काठमाडौँ – नेपालमा थप २ हजार २६ जनामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग देखिएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुबाट देशभर पीडित हुनेको संख्या गत साउनदेखि आजसम्म २७ हजार ५६९ पुगेको छ । यसअघि सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु संक्रमण भएको थियो ।


ADVERTISEMENT

# # #


यससँगै काठमाडौँ उपत्यकामा आक्रामक रुप लिइरहेको डेंगु देशका ७६ जिल्लामा फैलिएको छ । गत ४८ घण्टामा डेंगुका कारण ४ जनाको मृत्यु भएको छ भने हालसम्म डेंगुबाट ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ ।

डेंगुबाट सबैभन्दा धेरै बाग्मती प्रदेशमा पीडित भएका छन् । मन्त्रालयका अनुसार बाग्मतीमा हालसम्म २१ हजार ५८९ जनाले डेंगुको सामना गर्नुपरेको छ । यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन् । जहाँ हालसम्म २३६ जनामा मात्रै डेंगु देखिएको छ ।

डेंगु नियन्त्रण र रोकथामका लागि ईपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत १३९ स्थानीय तह, ६० जिल्ला र ७ वटै प्रदेशमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

यस्तै नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको १ हजार २ सय ८४ पीसीआर परीक्षणका क्रममा ३१ जना र १ हजार ५ सय ३४ एन्टीजेन परीक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५२ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा १ हजार १ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।