काठमाडौं –  भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा जगदिश खड्का नियुक्त भएका छन् ।


ADVERTISEMENT


चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सिइओका रूपमा नियुक्त गरेको हो । नवनियुक्त सिइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनियतताको सपथ खुवाए ।


ADVERTISEMENT

# # #


सिइओ खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका हुन् । उनीसँग बिजनेस अपरेशन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एण्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङमा १२ वर्षभन्दा धेरै समयको अनुभव छ।

उनी यसअघि एफवानसफ्ट ग्रुपअन्तरगतको फोनपे पेमेन्ट सर्विसमा डाइरेक्टरको रूपमा समेत आबद्ध थिए । सेवामा प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो कार्यभार सम्हाल्दै नवनियुक्त सिइओ खड्काले भने, ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ ।’

उनले थपे, ‘डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको ई-सेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छु। मैले ई-सेवाका सेवालाई अझ विस्तार गरी आम मानिसको दैनिक जनजीवन सहज बनाउनका लागि भूमिका खेल्नेछु र कम्पनीलाई अझ सशक्त बनाउँदै अगाडी बढ्नेछु।’

ई-सेवा सञ्चालक समितिले यसअघि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर ई-सेवालाई आजको दिनसम्म ल्याइ पुर्‍याउन सफल भएका सुभास सापकोटालाई विशेष धन्यवाद दिएको छ।

उनी सिइओका रूपमा बाहिर रहेपनि कम्पनीको बोर्ड सदस्यमा भने रहनेछन्। सिइओबाट उनले दिएको राजिनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

ई-सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।

ई-सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ।