काठमाडौँ – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई कारबाही गर्न आग्रह गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले आसम्म निर्वाचनमा प्रतिनिधिसभातर्फ रौतहट क्षेत्र नं. १ का उम्मेदवार समेत रहेका अध्यक्ष नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई बिहीबार पत्राचार गरेको हो ।
अध्यक्ष नेपालले निर्वाचनको सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनी सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेको भन्दै आयोगले नेपाललाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ बमोजिम कारबाही गर्न भनेको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख छ ।
रौतहटमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफू निर्वाचित भएपछि वैदेशिक रोजगारीमा जान चाहनेका लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरिदिने आश्वासन दिएका थिए ।
आयोगको पत्रमा भनिएको छ, निज (अध्यक्ष नेपाल)ले ‘बिना ढेवा के भिसा मिलते हैं, टिकट मिल्ते हैं, काठमाडौं तालिम मिल्ते है’ भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईँको होइन भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ।’
आयोगले पत्रमा थप भनेको छ, ‘निज श्री माधवकुमार नेपालबाट निर्वाचनको सम्मुखमा युवाहरुलाई विदेश पठाउन भनि सार्वजनिक प्रलोभन देखाउने काम गरेकाले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ बमोजिम कारबाही प्रक्रिया अघि बढाउन अनुरोध छ ।’
दफा २० को उपदफा (४) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
यस्तै निर्वाचन आयोगले उक्त अभिव्यक्तिबारे अध्यक्ष नेपाललाई स्पष्टीकरण समेत सोधेको छ । स्पष्टीकरणको जवाफ नआउँदै आयोगले अध्यक्ष नेपाललाई कारबाही गर्न पत्रचार गरेको हो ।