कञ्चनपुर – बेलडाँडी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । सर्पदंश लागेका बिरामीको उपचारका लागि बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।


ADVERTISEMENT


सर्पदंश लागेका बिरामीको उपचार गर्नका लागि दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था गरिएको गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बताए । “सर्पदंश, बिच्छीलगायतका विषालु कीराले काट्दा उपचारका लागि बाह्य क्षेत्रमा जानुपर्ने बाध्यता थियो”, उनले भने, “समयमै उपचार नपाउँदा ज्यान जाने समस्या थियो, त्यस कुरालाई मध्यनजर गर्दै केन्द्र सञ्चालनमा ल्याएका छौँ ।”


ADVERTISEMENT

# # #


चुनावका बेला सर्पदंश केन्द्र सञ्चालन गर्ने प्रतिबद्धताअनुसार केन्द्रको स्थापना गरी सर्वसाधारणलाई स्थानीयस्तरमै उपचार गर्ने व्यवस्था गरिएको उनले बताए । सर्पदंश लागे स्थानीय बासिन्दाले प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर सेवा लिन सक्ने उनको भनाइ रहेको छ ।

“केन्द्रमा पुग्ने बासिन्दालाई सहजरुपमा कसरी सेवा पुर्याउन सकिन्छ, त्यसबारे सुधार गर्दै लैजान्छौँ”, उनले भने, “सर्पदंश लागेर अब कसैको ज्यान जाँदैन ।” आइतबार गाउँपालिका प्रमुख हरिशचन्द्र राना र उपाध्यक्ष शान्ति नाथले केन्द्रको संयुक्तरुपमा शुभारम्भ गरे । केन्द्र सञ्चालनमा आएपछि बेलडाँडीसँगै बेलौरी नगरपालिका र लालझाडी गाँउपालिकाका क्षेत्रका बासिन्दा लाभान्वित हुने भएका छन् । रासस