काठमाडौं-समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार सर्लाही २ र ३ नम्बर क्षेत्रको गणना जारी छ ।


ADVERTISEMENT


दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ ।


ADVERTISEMENT

# # #


सबै गणना सकिँदा उल्लिखित सिट संख्यामा सामान्य मात्र हेरफेर हुन सक्ने आयोग स्रोतले जनाएको छ ।

यी पाँच पार्टीले मात्रै कुल सदर मतको ३ प्रतिशत कटाएकाले कानुनअनुसार ती दलले मात्रै समानुपातिकबाट सिट पाउनेछन् । आयोगले ‘सेन्टलग’ विधिबाट दलहरूले पाउने सिट निर्धारण गर्नेछ ।

३ प्रतिशतभन्दा कम ल्याएका दलहरूको मत समानुपातिक सिटका लागि गणना हुनेछैन । समानुपातिक निर्वाचन प्रणालीबाट ४९ दलले चुनावी प्रतिस्पर्धा गरेका थिए । ४४ दलले ३ प्रतिशतभन्दा कम मत पाए ।

सबभन्दा बढी एमालेले ३१ लाख ६१ हजार २ सय ९५ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले ३१ लाख ११ हजार ६ सय ४३ मत पाएको छ । प्रत्यक्षतर्फ एमालेभन्दा धेरै सिटले पछाडि रहेको कांग्रेस लोकप्रिय मतमा भने एमालेभन्दा ४९ हजार ६ सय ५२ मतले मात्रै पछाडि छ ।

प्रत्यक्षमा एमालेले ८० सिट जित्दा कांग्रेसले २३ सिट मात्रै जितेको छ ।-आजको कान्तिपुरबाट