काठमाडौं-झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन पार्टी अध्यक्ष कमल थापालाई आभार व्यक्त गर्दागर्दै भक्कानिएका थिए । झापाको बिर्तामोडमा शनिबार बधाई दिन आयोजित कार्यक्रममा बोल्दाबोल्दै लिङदेन भक्कानिएका हुन्। उनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गरेका थिए । लिङदेनलाई एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए ।


ADVERTISEMENT


अरू ठाउँमा कांग्रेससँग गठबन्धन गरेको राप्रपाले झापामा भने वामपन्थी दलसँग चुनावी तालमेल गरेको थियो । झापामा राप्रपाका तर्फबाट उनी एक्ला उम्मेदवार थिए। उनलाई जिताउन भनेर एमाले अध्यक्ष केपी शर्मा ओली दुई पटक उनको चुनावी कार्यक्रममा पुगेका थिए ।


ADVERTISEMENT

# # #


शनिबार लिङ्देनलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाको उपस्थिति थियो । लिङदेन भावुक बनेपछि कार्यक्रममा एकाएक मौनता छाएको थियो । उनी मन्तव्यको सुरुमै भावुक बनेका थिए । ‘आफू हारेर मलाई जिताउन लाग्ने पार्टी नेतृत्वप्रति आभार प्रकट गर्नुबाहेक अन्य केही छैन म सँग’, उनले भने । यति बोल्दाबोल्दै उनको गला रोकिएको थियो । उनले आफूलाई सम्हाल्दै भने, ‘हामी हारेका छौं, ढलेका छैनौं ।’

राप्रपा अध्यक्ष थापाले प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले अकल्पनीय र निराशाजन हार बेहोर्नुपरेको बताए । पार्टी अध्यक्षको नाताले हारको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष थापाले हारको कारणबारे अध्ययन भइरहेको बताए । हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेको पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड मत प्राप्त गर्न नसक्नु दुःखद् भएको उनको भनाइ थियो ।

गठबन्धन र राष्ट्रिय राजनीतिका विषयमा केही नबोलेका थापाले अब राप्रपाले सडक र सदनमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने सुनाए । उनले झापाबाट लिङदेन विजयी बनेर पार्टीकै शाख जोगाएको धारणा व्यक्त गरेका थिए ।