बागलुङ– बागलुङको ताराखोला जंगलमा लागेको डढेलो तीन दिनपछि नियन्त्रणमा आएको छ । डढेलो निभाउन खटिएका एक हजार भन्दा बढी स्थानीयवासीसँगै पुगेको नेपाली सेना र नेपाल प्रहरीको सक्रियताले शनिबारबाट डढेलो नियन्त्रणमा आएको बागलुङ निर्वाचन क्षेत्र नम्बर–२, प्रदेश सभा ‘क’ का प्रदेश सभा सदस्य चन्द्रबहादुर बुढा सागरले जानकारी दिए । बिहीबार दिउँसो ताराखोला–५ लाबाङपारिको खरबारीबाट सल्कीएको आगो फैलिएर १ हजार ७ सय रोपनी वन क्षेत्र नष्ट भएको छ ।


ADVERTISEMENT


अहिले कतिपय अप्ठेयारो भिरपाखामा सामान्य धुँवा देखिनुबाहेक सबै ठाउँको ठूलो आगो निभेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए । डढेलो नियन्त्रणको लागि बिहबार दिउसोदेखि नै ताराखोलावासीले पालो बाँडेर दिउसो र राती दुबै समय लगातार खटिएका थिए ।


ADVERTISEMENT

# # #


डढेलोस्थलभन्दा डेढ घण्टा टाढा उक्रुडाँडाबाट लगातार पानी बोकेर अग्नीरेखाको घेरा बनाई आगो नियन्त्रमा लिईएको युवावर्ष आधारभूत विद्यालयका प्रधानाध्यापक पूर्णभद्र निउरेले जानकारी दिए । ‘हामीले सबैको पुरै समय आगो नियनत्रणमा लगाउन पाईयोस भनेर खटिएकाहरुलाई खाना खाने व्यवस्था समेत जंगलमै गरेका थियौँ’ निउरेले भने ।

काँडा पोल्ने क्रममा बालिएको आगो खरबारी हुँदै आसपासको जंगलमा फैलिएको थियो । भिषण आगलागीले धस्मर र करिमेला गाउँमाथिको जंगल तथा वडा नम्बर–४ को तिनचुले सामुदायीक वन आसपासमा रहेको प्राकृतिक सम्पदा नष्ट गरेको छ । स्थानीय वासीन्दाको व्यक्तिगत खरबारी, दुर्गा भावानी माविको नाममा भएको वनसँगै सामुदायिक तथा सरकारी वनक्षेत्रमा रहेका रुख बिरुवा, घाँस, बन्यजन्तु र जडीबुटी नष्ट हुँदा करोडौँको क्षेती भएको स्थानीय खिमबहादुर घर्तीले जानकारी दिए ।