काठमाडौँ– किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।


ADVERTISEMENT


विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।


ADVERTISEMENT

# # #


किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन २००५ सालमा भएको हो । किराँत समाज सुधारमा उनले पुर्‍याएका योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँत समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए । रासस