काठमाडौँ– परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चीनको ओबिओर (वान बेल्ट वान रोड, ओबोर) आयोजनाबाट नेपाल बढीभन्दा बढी लाभान्वित हुन चाहेको धारणा राखेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा हाल त्यहाँ रहेका परराष्ट्रमन्त्री डा महतले चीनको बेइजिङस्थित बेइजिङ फरेन इस्टडी युनिभर्सिटीद्वारा आज आयोजित कार्यक्रममा सो धारणा राखेका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने – “नेपाल एक भूपरिवेष्टित देश हो र चीनको यो बृहत् आयोजनाले नेपालजस्तो छिमेकीलाई चीन हुँदै अर्को संसारमा जोड्न र हाम्रो उत्पादनको निर्यातमा समेत सघाउने हुँदा यसबाट हामी लाभान्वित हुन चाहन्छौँ ।”

परराष्ट्रमन्त्री डा महतले छिमेकी देश चीनले थालेको यो बृहत् सञ्जालका माध्यमबाट हामी पनि नेपाली उत्पादनलाई एसिया र युरोपेली बजारमा पुर्याउनका साथै हाम्रो देशको बहुआयामिकतालाई विश्वमा परिचित गराउन सफल हुने विश्वास व्यक्त गरेको परराष्ट्रमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले बताए ।

सडक सञ्जालको माध्यमबाट नेपाललाई पनि चीन तथा अन्य विश्वसँग जोड्न सकेमा विकासका प्रचुर सम्भावना भएको नेपालका लागि ठूलो सौभाग्य हुने बताउँदै उनले चीनलाई नेपालको पूर्वाधार विकासका क्षेत्रमा सघाउन आग्रह गरे ।

मन्त्री डा महतले भने – “नेपाल गरिब होइन र भूगोलमा सानो पनि छैन, हामीसँग विकासका प्रचुर सम्भावना छन् तर पनि पूर्वाधार क्षेत्रमा आवश्यक विकास हुन नसक्दा हाम्रो ठूलो श्रमशक्ति बाहिरिएको छ र वैदेशिक लगानी पनि अपेक्षित आउन सकिरहेको छैन ।”नेपालमा पूर्वाधार निर्माणका साथै पर्यटन, जलविद्युत्लगायतका क्षेत्रमा लगानीका लागि उनले चीन सरकारसँग आग्रह पनि गरे ।

मन्त्री डा.महतले हामीसँग प्रचुर मात्रामा जल, प्राकृतिक सम्पदा, जडीबुटी, वनस्पति तथा विश्वप्रसिद्ध आकर्षक हिमाल पहाड भए पनि पूर्वाधारको कमीका कारण यो सम्पत्तिबाट हामी लाभान्वित हुन सकेका छैनौँ भने अर्कातर्फ बर्सेनि हाम्रो श्रम बजार बाहिरिएको छ भने ।

एक असल छिमेकीको हैसियतले चीनले नेपालको बृहत्तर विकासमा पुर्याउँदै आएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्दै उनले सदियौँअघिदेखि जनताको तहबाट सुरु भएको नेपाल–चीन सम्बन्ध हाल पनि सुमधुर रहेको र नेपाल एक चीन नीतिप्रति अडिग रहिआएको प्रतिबद्धता व्यक्त गरे ।

सो सेन्टरमा विभिन्न वक्ताले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा चर्चा गरेका थिए। प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री डा महतसँग आजै चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका सदस्य सङ ताओले भेटवार्ता गरेको जनसम्पर्क तथा प्रेस संयोजक पाठकले बताए।