काठमाडौँ – अब एनआईसी एशिया बैंकका ग्राहकले भिडियो केवाईसीबाटै आफ्नो केवाईसी विवरण अद्यावधिक गर्न सक्ने भएका छन् ।
डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति लिएको बैँकले ग्राहकका लागि घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने सुविधा ल्याएको हो । जसका लागि ग्राहकले बैंकको वेबसाइटमा रहेको अनलाइन एप्लिकेशन ट्याब गरी ई-केवाईसी छनौट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकको कारण उल्लेख गर्नुपर्नेछ ।
त्यसपश्चात ग्राहकले ओटीपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुवै विकल्प छनौट गरी पेश गर्नुपर्नेछ । त्यसपछि ग्राहकहरूले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा भिडियो कलमार्फत केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् ।
यस्तै बैंकिङ्ग समयमा भिडियो कलको लागि समय लिएर उक्त समयमा केवाईसी विवरण अद्यावधिक गर्न सकिने बैँकले जनाएको छ । बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहकहरूको लागि अनलाईनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको सुरुवात गरिसकेको छ ।
ग्राहकहरूले भी–केवाईसीको लागि कल गर्दा नागरिकता, पासपोर्ट, ड्राइभिङ लाइसेन्स वा मतदाता परिचय पत्रमध्ये आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र तथा सेतो कागज र कालो–निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कलमार्फत देखाउनुपर्ने छ ।
यसरी भी–केवाईसी मार्फत केवाईसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकहरूले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् । स्वदेश वा विदेशमा रहेका ग्राहकहरूलाई भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सकिने हुँदा बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थिति हुनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको जनाएको छ ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।