रुपन्देही – आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ ।


ADVERTISEMENT


मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल–भारत सीमा बन्द हुने भनिए पनि व्यावहारिकरूपमा त्यो सम्भव नहुने देखेपछि कडा जाँच गरी सुरक्षाकर्मीले दुवैतर्फका सर्वसाधारणलाई आवागमन गर्न दिएका छन् ।


ADVERTISEMENT

# # #


सीमामै भेटिएका रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले बिरामी, बिरामी बोकेको गाडी, अत्यावश्यक सामान बोकेका मालवाहक गाडी, नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपाली मतदातालाई केहीबेर ‘होल्ड’ गरी आवागमन गर्न दिइएको बताए ।

सीमामा नेपालबाट भारत फर्किने मालवाहक ट्रकको लामो लाइन लागेको छ । ती ट्रकलाई भारतको समन्वयमा भारत पुर्याउने तयारी भइरहेको छ । शुक्रबार र शनिबार केही छुट रहे पनि मतदानको दिन भने पूर्णरूपमा आवागमन ठप्प बनाउने श्रेष्ठले बताए । “भारतीय गाडी नेपालमा राख्दा सुरक्षा चुनौती त हुन्छ नै उनीहरूलाई पनि अप्ठ्यारो हुन्छ”, श्रेष्ठले भने, “भारतीय सुरक्षा निकायको समन्वयमा यिनीहरूलाई पठाउने व्यवस्था हुन्छ ।”

नेपाल र भारतका सुरक्षाकर्मीसँगै भारतीय उच्च अधिकारीले पनि सीमामा निगरानी गरिरहेका छन् । भारत महाराजगञ्जका सहायक डिस्ट्रिक्ट मजिष्ट्रेट दिनेशकुमार मिश्रले पनि नेपालमा हुने निर्वाचनका क्रममा भारतबाट पूर्णरूपमा सहयोग र समन्वय रहने बताए ।

रुपन्देहीमा करिब ६० किलोमिटर नेपाल र भारतबीच खुला सीमा रहेको छ । यी सीमा नाकामा अहिले सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी पनि खटेको छ । मङ्सिर ४ गते हुने आमनिर्वाचनलाई लिएर रुपन्देहीका विभिन्न मतदान केन्द्रको निर्माण तीव्र बनाइएको छ ।

रुपन्देहीका सात सय दुई मतदान केन्द्रमा आठ कर्मचारीका दरले बिहीबारदेखि नै कर्मचारी मतदान केन्द्र पुगिसकेको जिल्ला निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले जानकारी दिए । फिल्डमा सुरक्षाकर्मीसहित पुगेको मतदान अधिकृतको टोलीले निर्वाचनलाई सफल बनाउन विभिन्न मुचुल्का बनाई टाँस गरेको छ । मतदान अधिकृतको टोलीले स्थानीय राजनीतिक दलहरूसँग शुक्रबार सर्वदलीय छलफलसमेत गरेको बेलहिया माविमा खटेका मतदान अधिकृत जगतबहादुर बस्नेतले बताए।