दाङ : दाङमा गतवर्षको तुलनामा यसवर्ष मह उत्पादनमा वृद्धि भएको छ। नेपाल माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष एकसय टन बढी मह उत्पादन भएको छ। चरन व्यवस्थित गरेका कारण मह उत्पादनमा वृद्धि भएको हो।


ADVERTISEMENT


महासंघका अध्यक्ष श्रेष्ठ यसवर्ष किसानले तीनपटकसम्म मह काढेको बताउँछन्। गत वर्ष अधिकांश किसानले एकपटक मात्र मह निकालेका थिए। जिल्लामा यसवर्ष करिब ३२० टन मह उत्पादन भएको श्रेष्ठले बताए। गत वर्ष २२० टन मह उत्पादन भएको थियो।


ADVERTISEMENT

# # #


जिल्लामा १५ हजार माहुरीको घार रहेको नेपाल माहुरी पालन महासंघ दाङले जनाएको छ भने ६५० माहुरी पालक किसान रहेका छन्। जिल्लामा उत्पादनको करिब २० प्रतिशत मात्र खपत हुन्छ।

जिल्लाबाट मह काठमाडौँ, पोखरा, इटहरी, बुटवल, स्याङ्जा, पाल्पा, नेपालगञ्जलगायत सहरमा बिक्री गरिँदै आएको श्रेष्ठ बताउँछन्।

अहिले जिल्लामा प्रशोधित मह प्रतिकिलो ४०० र प्रशोधन नगरिएको मह ३०० देखि ३५० रुपैयाँसम्ममा बिक्री भइरहेको महासंघले जनाएको छ।रासस