इनरुवा– चौतर्फीरूपमा प्रदेशको राजधानीका लागि आन्दोलन भइरहेको बेला सुनसरी सदरमुकाम इनरुवालाई पनि प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग इनरुवाका बुद्धिजीवी तथा सञ्चारकर्मीले गरेका छन्।


ADVERTISEMENT


इनरुवा प्रदेश नं १ का १४ जिल्लालाई पायक पर्ने, पर्यटकीय क्षेत्रको नजिक, भौतिक पूर्वाधार, सरकारी र ऐलानी जग्गा प्रशस्त भएको ठाउँ भएका कारण इनरुवालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग यहाँका बुद्धिजीवीले गरेका हुन्।


ADVERTISEMENT

# # #


इनरुवामा तत्काल प्रदेश सरकारको मुख्यमन्त्री र प्रादेशिक मन्त्रालय राख्न सक्ने क्षमताका भवन र स्थान भएकाले राजधानी बनाउन उपयुक्त रहेको वुद्धिजीवी तथा समाजसेवी शिक्षक देवकृष्ण यादवको भनाइ छ।

यस क्षेत्रमा प्रदेशको राजधानी बनाउनका लागि भौतिक पूर्वाधारसँगै एयरपोर्टदेखि नजिक, यातायातको पहुँच भएको, चौबिसै घण्टा विद्युत् रहने, खानेपानी, स्वास्थ्य, शिक्षा, सञ्चारलगायतको पहुँच रहेकाले राजधानीको लागि उत्तम स्थान रहेको यादवले बताए।

यस क्षेत्रमा राजधानी भए विकासमा पछाडि रहेका गाउँपालिकासमेत विकासको मूलधारमा आउने भएकाले इनरुवा राजधानीका लागि उपयुक्त ठाउँ भएको उद्योग वाणिज्य संघका इनरुवा सचिव गिरिराज अटलले बताए।

इनरुवा शान्त र सहरीकरण उन्मुख रहेको, आपत्विपद र भूकम्पजस्ता प्राकृतिक प्रकोप आएको खण्डमा व्यवस्थापन र जोगिने स्थान तथा खुल्ला चौर भएकाले अरु ठाउँको तुलनामा इनरुवा राजधानीका लागि उत्तम ठाउँ भएको पत्रकार अमर काफ्लेको भनाइ छ ।

राजधानीको विषयमा पूर्वका धेरै जिल्लामा चर्चा चलिरहँदा सुनसरीका राजनीतिक दलहरू मौन रहेकाले सही समयमा सही सूचना दिनका लागि इनरुवा नै प्रदेशको राजधानी हुनुपर्ने समाजसेवी धीरज भट्टराईको भनाइ छ।