काठमाडौं-धनुषाको जनकनन्दनी गाउँपालिका अन्तर्गत खजुरी गाउँमा अहिले पनि नेपाल रेल्वेका स्टिम इन्जिनहरू यथावत् छन् । विश्वमै लोप भइसकेका न्यारोगेज रेलका स्टिम इन्जिनहरू जथाभावी थन्काइएको छ । तर, उपयोगविहीन ती सामग्रीलाई संग्रहालयका रूपमा परिणत गरी नयाँ पुस्तालाई इतिहास अवगत गराउने तयारीमा स्थानीयहरू सक्रिय भएका छन् ।


ADVERTISEMENT


नेपालकै एक मात्र रेलसेवा जनकपुर-जयनगर बन्द भएको तीन वर्ष भइसकेको छ । रेलसेवा बन्द भएपछि पुराना इन्जिन, बोगी र मेसिनरी पार्टपुर्जाहरू खजुरीमा थन्काइएका छन् । लामो समयदेखि खुला आकाशमुनी राखिएका इन्जिनहरू खिया लाग्न थालेपछि संरक्षणका लागि यस क्षेत्रका बासिन्दाहरूले विभिन्न निकायमा पहल गर्न थालेका छन् ।


ADVERTISEMENT

# # #


३० वर्ष नेपाल रेल्वेमा सेवा गरी अवकाशप्राप्त पूर्वकर्मचारी तथा खजुरी निवासी महेन्द्रबहादुर कार्की भन्छन्, ‘हामीले यस रेलको जागिरबाटै दानापानी खाएका छौं । कुनै बेला यस क्षेत्रको जनजीवनलाई विकासको गतिसँग जोड्ने यी रेल्वेका स्टिम इन्जिनहरू नै थिए ।’

जम्मा ११ वटा स्टिम इन्जिनहरूको नामाकरण पनि गरिएको थियो कार्कीलाई अहिले पनि ती सबै नामको सम्झना छ । उनले ती स्टिम इन्जिनहरूको खरर नाम सुनाए । चन्द्र, सूर्य, महावीर, पशुपति, गुहेश्वरी, रामा, सीता, रामसीता, गोरखनाथ, विष्णु । तर, अहिले सम्बन्धित निकायको ध्यान नपुग्दा यति ठूलो महत्व बोकेको इतिहास संरक्षणको अभावमा बर्बाद हुने अवस्थामा पुगेको छ ।

खजुरी निवासी मनोज साह भन्छन्, ‘यही इन्जिनहरू विदेशमा हुन्थे भने ठूलो म्युजियम बनाएर पर्यटकहरूको आकर्षणको केन्द्र बनाइन्थ्यो । तर, हामीकहाँ यसको कदर नै भएन ।’ हाल रेलका पुराना संरचनाहरू थन्काइएको जग्गा वरिपरि नेपाल रेल्वेकै १० बिघाभन्दा बढी जग्गा रहेको छ ।

तिनलाई उपयोग गरी संग्रहालयमा परिणत गर्न सकिने गाउँपालिकाकी उपप्रमुख भारती कार्की बताउँछिन् । उनले भनिन्, ‘यी इन्जिन अन्यत्र लगियो भने कबाडको मूल्यमा बिक्री हुन्छ तर हामी गाउँले मिलेर यसलाई अन्यत्र जान नदिई यही संग्रहालय बनाउनुपर्ने माग सरकारसँग गर्छौं ।’

१९९४ सालमा तत्कालीन भारतमा शासन गरी बसेका ब्रिटिस शासकले महोत्तरी जंगलबाट साँखुको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटरसम्म सञ्चालनमा रहेको थियो ।

तर, २०५९ सालमा आएको बाढीबाट बिग्ही पुल क्षतिग्रस्त भएयता रेलसेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुग्यो । जनकपुर–जयनगरका लागि दैनिक तीन सेवा सञ्चालन हुँदै आएको रेलसेवा अन्तिम समयमा एकपटकमा सीमित भएको थियो । त्यो पनि नियमित भने थिएन ।

यसले २०१८ सालदेखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो । पछि ०५१ मा भारत सरकारको सहयोगमा १८ बोगीसहित चार वटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेलसेवा सञ्चालन भएको हो । रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा यसलाई नेपाल यातायात संस्थानअन्तर्गत राखियो ।

पछि ०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्यो । रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए । २०६१ सालमा रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गरिएपछि नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको छ ।