काठमाडौँ – सिरियल किलरका नामले कुख्यात अपराधी फ्रान्सका चार्ल्स गुरुमुख शोभराज होताचन्द भवानी अर्थात् चार्ल्स शोभराज कारागारबाट छुटेसँगै फ्रान्स डिर्पोट भएका छन् । शुक्रबार रिहाई भएको केही घण्टामै अध्यागमन विभागले आवश्यक प्रक्रिया पूरा गरेर उनलाई फ्रान्स पठाइदिएको हो ।


ADVERTISEMENT


बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराले दिएको प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै बुधबार नै रिहाई गरेर १५ दिनभित्र स्वदेश फर्किने गरी बन्दोबस्त गर्न आदेश दिएको थियो ।


ADVERTISEMENT

# # #


अमेरिकी र क्यानेडियन नागरिकको हत्याको मुद्दामा शोभराजले १९ वर्ष कैद भुक्तानी गरीसकेको थिए । उमेर ७८ वर्ष भइसकेकाले उनलाई निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड, संविधान र कानुनप्रदत्त अधिकार अनुकुल नहुने भन्दै सर्वोच्चले रिहाइ गर्न आदेश दिएको थियो ।

तर, केन्द्रीय कारागार सुन्धारामा रहेका उनलाई आज (शुक्रबार) मात्रै थुनामुक्त गर्दै प्रहरीले दिउँसो अध्यागमन विभागलाई बुझाएको थियो । केही दिन नेपालमा नै रहने शोभराजको इच्छा भए पनि विभागले आजै उनलाई ५० हजार रुपैयाँ जरिवाना र १० वर्षसम्म नेपाल आउन नपाउने गरी स्वदेश पठाइदिएको हो ।

उनी कतार एयरको विमानबाट कतारको दोहा ट्रान्जिट हुँदै फ्रान्सको पेरिस पुग्नेछन् ।

यस्तो छ उनको पृष्ठभूमि

भारतीय मूलका फ्रान्सका शोभराज किशोरावस्थादेखि नै चोरी र लुटपाटमा संलग्न थिए । उनले दर्जनौँ देशमा दर्जनौँ व्यक्तिको हत्या गरेका छन् ।

उनले थाइल्यान्डमा मात्र १४ जनाको हत्या गरेकाको बताइन्छ । उनी भारतमा सन् १९७६ देखि १९९७ सम्म २१ वर्ष जेल परेका थिए । भारतको चर्चित तिहाड जेलमा बस्दा उनले जेल प्रशासनलाई घूस दिएर विलासी जीवन बिताएको चर्चा पनि चलेको थियो ।

यसबाहेक नेपालमा वि.सं २०३२ सालमा भक्तपुरमा एक जना अमेरिकी र एक जना क्यानाडेली महिलाको हत्यामा संलग्न भएको आरोप पुष्टि भएपछि उनी जेल पुगेका हुन् । विगतमा नेपाल बाहिर रहेका उनी २०६० सालमा काठमाडौं आएलगत्तै प्रहरीले क्यासिनोबाट पक्राउ गरेर केन्द्रीय कारागार पुर्याएको थियो ।

कारागारमा छँदै शोभराजले सन् २००८ मा नेपाली युवती निहीता विश्वाससँग दोस्रो विवाह गरेका थिए । शोभराजमाथि उपन्यास, फिल्म, डकुमेन्टी तथा किताब समेत लेखिएका छन् ।

शोभराजलाई २८ साउन २०६१ मा काठमाडौं जिल्ला अदालतले हत्याको ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । २० साउन २०६२ मा पुनरावेदन अदालत पाटनले जिल्ला अदालतको फैसला सदर गरेको थियो । १४ साउन २०६७ मा सर्वोच्च अदालतले शोभराजको मुद्दामा विगतका फैसलाहरुलाई नै सदर गर्ने फैसला सुनाएको थियो ।