काठमाडौँ – काठमाडौँमा जारी नेपाल टी–२० क्रिकेट लिग प्रतियोगितामा फिक्सिङ (मिलोमतो)को आशंका गरिएको छ । खेलमा कतिपय खेलाडीहरुले आफ्नो खेल कौशलअनुसार नखेलेको तथा टिम मालिकर खेल अफिसियलका गतिविधिले फिक्सिङको आशंकालाई थप बल पुर्याएको छ ।


ADVERTISEMENT


चौतर्फी यसबारे प्रश्न उठ्न थालेपछि युवा तथा खेलकुद मन्त्रालयले समेत चासो व्यक्त गरेको छ । साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समेत अनुसन्धान थाल्ने भएको छ । फिक्सिङको उजुरी परेसँगै ब्यूरोले अनुसन्धान अघि बढाएको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि आफ्नो अनुसन्धान अघि बढाएको छ । विशेषगरी अख्तियारले विदेशी खेलाडीले श्रम स्वीकृति लिएको–नलिएकोबारे अनुसन्धान गरिरहेको जनाइएको छ ।


ADVERTISEMENT

# # #


प्रतियोगितालाई लिएर नेपाल क्रिकेट संघ (क्यान)कै पदाधिकारीबीच विवाद सिर्जना भएको छ । क्यानका बोर्ड सदस्य छुम्बी लामाले प्रतियोगिताको सञ्चालनमाथि प्रश्न उठाउँदै आवश्यक अनुसन्धान गर्न माग गरेका छन् । सोमबार सामाजिक सञ्जालमा उनले नेपाली क्रिकेट दलाल र तस्करले कब्जा गएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल टी–२० क्रिकेट लिगको असली नियतमाथि गम्भीर प्रश्नहरु उब्जिन सुरु भएको छ। जारी प्रतियोगिताका विभिन्न गतिविधिहरु हेर्दा नेपाली क्रिकेट दलाल र तस्करले कब्जा जमाएको भान भइरहेको छ। निकट भविष्यमा समयले नै धेरै कुराहरु थप प्रष्ट गर्दै जाला। अहिलेलाई नेपाली क्रिकेटको संरक्षण गर्न सम्बन्धित सरोकारवाला गम्भीर भएर अनुसन्धान गर्न जरुरी देखिन्छ।’

यस्तै कमेन्टेटरको भूमिकामा रहेका सचिन तिमिल्सिनाले समेत आफूले फिक्सिङको आशंका गरेको भन्दै सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै कमेन्ट्री समेत छाडेका छन् । प्रतियोगिता आयोजनाको अधिकार पाएको भारतको सेभेन थ्री स्पोर्टस् सम्पर्कविहीन हुनु, भारतमा सट्टेबाजीमा प्रख्यात वन एक्स बेटले छद्म रुपमा वन एक्स ब्याटका नामबाट प्रतियोगिताको प्रमुख प्रायोजन गर्नुलाई पनि शंकाले हेरिएको छ ।

नेपालको कानुनविपरित खेललाई लिएर बेटिङ (सट्टेबाजी)समेत भइरहेको भन्दै प्रश्न समेत उठेका छन् । साथै टिम मालिकहरुले सम्झौताअनुसार खेलाडीलाई पारिश्रमिक भुक्तानी नगरेपछि आज बिहान काठमाडौँ नाइट्स र विराटनगर सुपर किंग्सको खेल प्रभावित भएको थियो । अन्ततः आज बेलुका सम्म पारिश्रमिक दिने सहमतिपछि खेल ९–९ ओभरमा झारिएको थियो ।