काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार भएको मतदानमा प्रधानमन्त्रीले प्रचण्डले प्रतिनिधिसभाका दुई तिहाई बढी सांसदको विश्वास जित्न सफल भएका हुन् ।


ADVERTISEMENT


कूल २७५ सदस्य रहेको प्रतिनिधिसभामा आज २७० जना सांसद उपस्थित रहेका थिए । जसमध्ये आफूलाई विश्वासको मत प्रदान गरियोस् भन्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावको पक्षमा २६८ जना सांसदले  मतदान गरेका छन् । प्रस्तावको विपक्षमा २ मत पर्यो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री प्रचण्डले प्राप्त गरेको मत प्रतिनिधिसभामा तत्काल कायम रहेको कूल सांसदको बहुमत भएको भन्दै प्रतिनिसिभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले प्रधानमन्त्री प्रचण्डले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास मत प्राप्त गरेको घोषणा गरे । प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उमुक्ति पार्टीका सांसदले विश्वासको मत दिए ।

यस्तै संसदको प्रमुख दल नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहित स्वतन्त्र सांसदले समेत विश्वासको मत लिएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । ७ दलसहित ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएपछि तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।

नेपालको संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । सोही अनुसार विश्वासको मत हासिल गरेसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार जोगिएको छ ।