बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले प्रदेश राजधानी देउखुरीलाई व्यवस्थित बनाउनु आफ्नो प्राथमिक काम हुने बताएका छन् ।


ADVERTISEMENT


बुधबार प्रदेश प्रमुख अमिक शेरचनबाट नियुक्तिपत्र पाएपछि पत्रकारहरुसँग बोल्दै मुख्यमन्त्री गिरीले स्थायी राजधानी तोकिएको दाङको देउखुरीलाई थप व्यवस्थित बनाउने बताएका हुन् । उनले भने, ‘अहिले बुटवलबाट प्रदेश राजधानी देउखुरी गएको छ । तर, अझैँ पनि त्यो व्यवस्थित गर्न बाँकी नै छ । त्यसतर्फ ध्यान दिन्छौँ ।’


ADVERTISEMENT

# # #


साथै उनले नेकपा माओवादीसँग मुख्यमन्त्री आलोपालो गर्ने कुनै कुरा नभएको बताए । उनले भने, ‘पार्टी केन्द्रको निर्देशन अनुसार नै हामी अघि बढेका हौँ । पार्टी केन्द्रले हामीलाई भन्दा त्यो गर्ने कुरा छँदैछ । तर, मेरो जानकारीमा आएसम्म आधा–आधा गर्ने कुरा केन्द्रबाट आएको छैन ।’ सर्मथनबाहिर रहेका पार्टीहरुलाई समेत साथमा लिएर काम गर्ने उनको भनाई छ ।

नवनियुक्त मुख्यमन्त्री गिरीले आफू सकभर सानो मन्त्रिमण्डल बनाउने बताए । उनले भने, ‘हामी मन्त्रिमण्डलको आकार सकेसम्म सानो बनाउँछौँ । सानो आकारले नै हामी प्रदेशलाई सञ्चालन गर्ने सोचमा छौँ ।’ प्रदेशका आवश्यकताहरुलाई अघि बढाउने र नागरिकका जीवनस्तर राजनीतिक परिवर्तनबाट सम्बोधन हुनुपर्छ भन्ने सोचका साथ आफू काम गर्ने उनले बताए ।

गिरीले एमाले–नेकपा माओवादी केन्द्रको गठबन्धनको तर्फबाट गिरीले ५८ जना सांसदको समर्थनसहित बुधबार नै प्रदेश प्रमुख शेरचन समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।