काठमाडौं– पुस ५ गते बिहान संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरीमा कार्यकर्तासँग शुभकामना तथा बधाई साटासाट गर्न व्यस्त भइरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरे । सो क्रममा ओलीले सरकार गठनको समिकरण र समसामयिक राजनीतिक विषयमा कुराकानी गर्नु परेको भन्दै काठमाडौं आउन आग्रह गरेका थिए । सो आग्रह स्वीकार्दै यादव दिन अबेर काठमाडौं आइपुगे ।


ADVERTISEMENT


यादव काठमाडौं आएपनि ओलीसँग भेट भने शनिबारमात्रै भएको हुन पुग्यो । ओलीको व्यवस्तताका कारण शनिबारमात्रै भेटघाट भएको बताइएको छ । यद्यपी ओली निवासमा बालकोटमा भएको उक्त भेटलाई दुबै पक्षले गोप्य राखेका छन् । भेटबारे ओलीका प्रेस संयोजक चेतन अधिकारीसँग जिज्ञासा राख्दा आफूलाई यसबारे केहि जानकारी नरहेको दाबी गरे । उनले भने, ‘म अलि ढिलो पुगेको थिएँ, भेटघाट भयो कि भएन मलाई थाह भएन ।’


ADVERTISEMENT

# # #


स्रोतका अनुसार २ अध्यक्षको बीचमा सरकार निर्माणकै विषयमा कुराकानी भएको हो । अध्यक्ष ओलीले अध्यक्ष यादवलाई एमाले र मधेशवादी दलसहित सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेको स्रोतको दावी छ । ‘माओवादी केन्द्रको लक्षण राम्रो छैन, यस अवस्थामा त्यो दलसँग सरकार निर्माण गर्न गाह्रो छ, अब फोरम नेपाल र एमाले मिलेर सरकार निर्माण गरौं ।’ ओलीको प्रस्ताव थियो ।

ओलीको उक्त आग्रहप्रति यादवले मधेशी दलसँग मिलेर सरकार निर्माण पहिला आफूहरुलाई हेर्ने एमालेको दृष्टिकोणमा परिवर्तन हुनुपर्ने धारणा राखेका थिए ।
हुन त काठमाडौं फर्किएसँगै यादवले पुस ६ गते राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसँग पनि छलफल गरेका थिए । छलफलमा दुई नेताबीच प्रदेश तथा केन्द्रको सत्ता समिकरण र अगामी गठबन्धनको विषयमा कुराकानी भएको बताइएको छ । राजपा नेपालका अधिकांश नेताहरु राजधानी बाहिर भएकाले सामान्य कुराकानीमात्रै भएको राजपाका एक महासचिवले जानकारी गराए ।

यस्तै पुस ७ गतेको सर्वदलीय बैठकमा सहभागि भएर फर्केका यादवलाई रातोपाटी प्रतिनिधिले उनकै पार्टी कार्यालयमा भेटेका थिए । सो भेटमा ओलीको सन्दर्भ उनीसँग राख्दा उनले उनले बाहिर आएका विषय सत्य नभएको दाबी गरेका थिए । यद्यपी उनले भेटको लागि कुरा भने भइरहेको बताएका थिए । यस्तो प्रतिक्रिया दिएको भोलिपल्ट यादवले ओलीलाई भेटेका हुन् ।

स्रोतका अनुसार ओलीसँगको भेटमा यादवले संविधान संशोधन लगायतका विषयमा एमाले पार्टीले खेलेको भूमिकप्रति मधेशी जनता सकारात्मक नरहेको बताउँदै मधेशको मुद्दाको विषयमा आफ्नो धारणा स्पष्ट पार्न ओलीलाई आग्रह समेत गरेका थिए ।
जवाफमा ओलीले यस विषयमा पार्टीमा सल्लाह गरेर जवाफ दिने बताएका थिए । ओलीले स्पष्ट जवाफ नदिएपछि यादव कुनै निश्कर्षबिनै बालकोटबाट फर्किएको फोरमका एक नेताले बताए ।

प्रचण्डको आशंका
ओली यादवबीच नयाँ समीकरण बनाउने विषयमा छलफल भएको खुलेपछि प्रचण्ड सशंकित बनेका छन् । नवलपरासीको कावासोतीमा हिजो पार्टीका नेता तथा कार्यकतासँगको भेटघाटमा उनले ओलीले उपेन्द्र यादवलाई सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेको दावी गरेका थिए । तर, ओलीले यादवको प्रस्ताव स्वीकार नगरेपछि मात्रै एमाले माओवादीसँग सरकार गर्न बाध्य बनेको निश्कर्षमा प्रचण्ड पुगेको बताइएको छ ।

ओली र उपेन्द्र यादवबीच सहमति बन्ने छाँटकाँट नरहेको कुरा आजको घटनाक्रमले पुष्टि गरेको छ । राष्ट्रियसभाको निर्वाचन सम्बन्धि अध्यादेशको बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले छलफलका लागि यादवलाई बोलाएकी थिइन् ।

सो छलफलमा यादवले सरकारद्धारा पेस गरिएको अध्यादेश हुबहु पास गर्न सुझाव दिएका थिए । सरकारले ल्याएको अध्यादेशमा एकल संक्रमणीय निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ र सोहि अध्यादेश हुबहु स्वीकृत गर्न यादवले राष्ट्रपति भण्डारीलाई आग्रह गरेका हुन् । तर, ओली भने बहुमतिय प्रणालीको पक्षमा रहेका छन् ।