सुनसरी – मा वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार तथा नेकपा एमालेकी केन्दिैय सदस्य भगवती चौधरीसंग हिमालय पोष्टको कुराकानी :


ADVERTISEMENT


सुनसरी-३ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तपाई नेपाली कांग्रेसका नेता विजय गच्छदारसंग झिनो मतान्तरले पराजित हुनु भयो । मतपरिणामका बारेमा यहाँको धारणा के छ ?


ADVERTISEMENT

# # #


विपरित मतपरिणाम आयो । ३२१ मतान्तरले गच्छदारको जित देखायो । तर म भन्दा त जनता पनि सन्तुष्ट छैनन् । किनभने धाँधली धेरै नै भयो । शिल तोडेको बाकस देखिँदा देखिँदै पनि मतगणना गर्नुले मतदान अधिकृतलाई पनि किनेको जस्तो देखियो । हामीले त्यसको प्रतिकार पनि गर्यौ । तरपनि उहाँहरुले मान्नु भएन । पहिलेको निर्वाचनमा पनि यस्तै धाँधली भएको थियो । यसपाली पनि यस्तै गरियो ।

तपाईले मतगणनामा धाँधली गरियो भन्नुभयो । यसका खास आधारहरु के हुन् ?

यस्ता आधारहरु थुप्रै छन् ।  सूर्यमा छाप लगाएको मतपत्रमा अलिकती मसी लत्पतिएको भए पनि बदर हुन्थ्यो तर रुखमा त्यस्तैलाई सदर गरिन्थ्यो । त्यसको प्रतिकार गदाँ उहाँले अदालत जानुस्, निर्वाचन अधिकृतको निर्णय अन्तिम हो भनेर धम्काइरहनु भएको थियो । रुखमा मतदान भएका ९ वटा अर्धकट्टीसहितको मतपत्र फेलापरेपछि उहाँहरुले ती मत सदर गर्नुभयो । तर अर्धकट्टीको सिरियल नम्बर हामीले माग गर्दा दिनुभएन । संविधानमा जनताले जुनसुकै सूचना पाउने हकको व्यवस्था गरिएको छ । तर म उम्मेदवार हुँदाहुँदै पनि धाँधली भइरहेको छ । जानकारी पाउँभन्दा पनि उहाँहरुले हेर्न नै दिनुभएन । त्यसैले हामी मतगणना छाडेर बाहिरिएका थियौँ । एकलौटी मतगणना भएको धेरै समयपछि पछि पार्टीले प्रतिनिधि पठाउन भनेपछि पठाएका थियौँ । पहिले पनि अन्य जिल्लाको मतपरिणाम आइसक्दा हाम्रोमा सुरु नै भएको थिएन । छिटो मतगणना गरौँ भन्दा निर्वाचन अधिकृत आलटाल गरिरहनुभएको थियो ।

मतगणनास्थलमा सीसी क्यामेरा राखौँ भन्दापनि उहाँहरुले मान्नुभएन । पहिले सायद सेटिङ मिलाउन सायद बाँकी नै थियो । त्यसैले आलटाल गरिरहनुभएको थियो । सेटिङ मिलेको कुरा थाहा पाएपछि छड्के जाँच गर्दा निर्वाचन अधिकृत मतगणना स्थलमा हुनुहुन्नथ्यो । फोन गर्दा कार्यालयमा फाइल हेर्दैछु भन्ने जवाफ आयो । आधा घण्टापछि मात्र आउनुभयो । त्यसपछि सिरियल नम्बर हेरौँ भन्दा उहाँले आलटाल गर्न खोज्नुभयो । तर मलाई सिरियल नम्बर देखाउन मान्नुभएन । एउटा बाकसमा शिल लगाइएकै थिएन । हामीले त्यसलाई गणना नगर्न माग गर्दा पनि सुन्नुभएन । मतपत्रमा दुई किसिमका स्वस्तीक छापको आकार भेटिएको थियो । सबै मतपत्रको छापको आकार त एउटै हुनुपर्ने तर रुख चिन्हमा मतदान भएका मतपत्रको कोही ठूलो कोही सानो भेटियो  ।  त्यसपछि हामीले मतगणना बहिष्कार गरेका हौँ । यसको छानविन गरिपाउँ भनेर त्यतीखेरपनि हामीले उजुरी दिएका थियौँ । विवाद भएको ठाउँमा पुनः मतदान गर्ने र विवादित कुराको लागि छानविन समिति गठन गरेर मतगणना अगाडी बढाउन माग गरेका थियौँँ । यस्ता थुप्रै आधार छन्  ।

भनेपछि गच्छदारले प्रशासनलाई आफ्नो हातमा लिएर निर्वाचन जितेको भन्ने तपाईको अरोप हो ?

निर्वाचन पहिले नै गच्छदारले डीएसपी विद्यानन्द माझीलाई एसपी बनाएर जिल्लामा ल्याएका थिए । यसको बारेमा जिल्ला पार्टी अध्यक्षले जानकारी गराउनुभएको थियो । हामीले त्यतीबेला सीडीयो, एसपीलाई भेटेर ‘तपाईहरुले नेपाल सरकारको तलब खाइसकेपछि निर्वाचनमा निश्पक्षता अपनाउनुपर्छ भनेर भनेका थियौँ । यती भन्दाभन्दै पनि अब उहाँहरुले खुलेआम त्यसरी गर्नुभयो । सुनेअनुसार एसपी आफै उभिएर एक ठाउँमा आफ्नो कमाण्डमा भोट हाल्न लगाएको बुझिएको छ । सहायक मतदान अधिकृतको सहयोगमा केही ठाउँमा बुथ कब्जा पनि गरिए । त्यस्ता अधिकृतलाई फिर्ता बोलाउनका लागि मुख्य निर्वाचन अधिकृतले पनि आलटाल गर्न खोज्नुभयो । यतीकुरा भनिसकेपछि त कसलाई हातमा लिएर निर्वाचन जिते भन्ने प्रमाणित आफै हुन्छ ।

अब कसरी अगाडी बढ्नुहुन्छ ?

अब हामी प्राप्त विवरणका साथमा न्यायिक निकायमा जान्छौँ ।

अदालतमा कुन उद्देश्यले जानुहुन्छ ? के होस् भन्ने तपाईको चाहाना हो ?
मतगणनामा पहिले देखि नै गडबढ गर्दै आउनुभएको थियो । तर १९ औँ नम्बरदेखि विवाद भएको हो । निर्वाचन अधिकृतले सूर्यको चिन्हमा मतदान भएको मतपत्रमा २० रुपैयाको नोट भेटिएको भन्नु भएको थियो । यदि त्यसो भएको थियो भने हाम्रो प्रतिनिधिलाई उहाँले त्यो कुरा कि देखाउनुभएन ? यसलाई कसरी विश्वास गर्न सकिन्छ ? ती विवाद भएका ठाउँमा पुनः मतदान गराईपाउँ भनेर हामीले अदालतमा उजुरी हालेका छौँ । अब हामी बदर गरिएका मतलाई पनि पुनः मतदान गरिपाउँ यदि त्यसो भएन भने बदर भएका ठाउँमा पुन मतगणना गरिपाउँ भनेर मुद्दामा जान्छौँ ।

कहिलेसम्ममा अदालत जानुहुन्छ ? किनकी समयसीमा त सकिन लाग्यो नि ?
हामी आजभोली नै जान्छौँ । १५ दिनको समय भएकाले भोली पर्सी नै केस दर्ता हुन्छ ।

मुद्दा परसिकेपछि अदालतले आदेश देला । त्यो छुट्टै कुरा हो । यसमा जनताको प्रतिक्रिया कस्तो पाउनु भयो ? पार्टीले के भनिरहेको छ ?

गच्छदारको पैसा, पावर, सत्तालाई नकार्दै जनताले मलाई अत्याधिक मत दिएको हो । जनताले परिवर्तन कै पक्षमा भोट हालेका थिए । जसरी पनि भगवती जित्नैपर्छ भनिरहेका थिए । जनताले मलाई सघाएकै हो । कानुन अनुसार न्यायको ढोका ढकढकाउन जाने हो । पार्टीको म इमान्दार कार्यकर्ता हुँ । त्यस हिसाबले पार्टीले केही न केही जिम्मेवारी दियो भने जनतालाई मैँले गरेका प्रतिवद्धता पूरा गर्नका लागि आफ्नो क्षमता, योग्यता अनुसार काम गर्छु ।