काठमाडौं-प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइका क्रममा दोलखा र कालिकोटमा झडप भयो । दुवै घटनामा म्यादी प्रहरीको असन्तुष्टि थियो– दिने भनिएको सेवासुविधा प्रहरीले कटौती गरेर दियो ।


ADVERTISEMENT


प्रहरीको गोलीले म्यादीको मृत्यु भएपछि शुक्रबारदेखि सदरमुकाम तनावग्रस्त छ । यही विवादमा ३ पुसमा दोलखामा म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा ७ जना घाइते भए । त्यस्तै, ७ पुसमा कालिकोटमा यस्तै प्रकृतिको झडप हुँदा प्रहरीको गोली लागी म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भयो ।


ADVERTISEMENT

# # #


८ पुसमा गृह मन्त्रालयले कालिकोटमा मृत्यु भएका म्यादी प्रहरीको घटनामा छानबिन गर्न मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ । सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको समितिले आइतबार काम थालेको छ ।

नेपाल प्रहरीका डीआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डीआईजी प्रवीण श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ रहेको समिति आइतबारै सुर्खेत पुगेको छ । टोली सोमबार कालिकोट पुग्नेछ । समितिका सदस्य डीआईजी खरेलले भने, ‘सोमबारदेखि स्थलगत अनुसन्धान सुरु हुनेछ र एक साताभित्रै सत्यतथ्य बुझेर प्रतिवेदन बुझाउनेछौं ।’

प्रहरी प्रवक्ता मनोज न्यौपाने म्यादी प्रहरीमाथि तलब र सुविधामा कहीं पनि कुनै भेदभाव नगरिएको बताउँछन् । उनका अनुसार म्यादी प्रहरीले पाउने स्थानीय भत्ता (दुर्गम भत्ता) र रासन भत्ताबापत पाउने रकम जिल्लाको भौगोलिक अवस्थितिअनुसार फरक–फरक तोकिएको छ ।

न्यौपानेले देशैभर परिचालित सबै म्यादी प्रहरीले ५५ दिनको मासिक तलब १७ हजार २ सय ३० रुपैयाँका दरले पाएका छन् । यसैगरी, उनीहरूले विशेष भत्ताबापत प्रतिदिन २ सय ५० र खाजाबापत प्रतिदिन २ सय ५० का दरले ७ दिनको जम्मा ३ हजार ५ सय रुपैयाँ पाएका छन् । त्यस्तै, पोसाक किन्न ४ हजार रुपैयाँ र आतेजाते भाडाबापत १ हजार रुपैयाँ पनि देशभरका लागि समान हुन्छ ।

प्रवक्ता न्यौपानेका अनुसार स्थानीय भत्ता र रासन भत्ता भने जिल्लाअनुसार फरक तोकिएको थियो । ‘यही कारण कुल पाउने रकम फरक भएको हो,’ उनले भने, ‘फलानो जिल्लाकाले यति रकम पाए, हामीले किन कम पायौं भन्नु गलत हुन्छ । किनकि स्थानीय भत्ता र रासनबापत पाउने रकम जिल्लाअनुसार फरक हुन्छ ।’

उनका अनुसार झापामा म्यादीलाई प्रतिदिन रासन भत्ता एक सय ५७ रुपैयाँ तोकिएको छ भने इलाममा एक सय ६८ । कालिकोटमा यही भत्ता २ सय ७१ छ । रसुवामा परिचालित म्यादीले एक सय ९२ रुपैयाँ प्रतिदिनका दरले रासनभत्ता पाएका छन् ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षामा ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी परिचालित गरेको थियो ।