काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहम्मद आदिल आलम र पूर्वक्रिकेटर महबुब आलम पक्राउ परेका छन् । काठमाडौँमा भएको पहिलो संस्करणको नेपाल टी–२० लिगका क्रममा खेल मिलमतो (स्पट फिक्सिङ)को गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीले उनीहरु फिक्सिङमा संलग्न भएको प्रमाण जुटाएसँगै पक्राउ गरेको हो । आदिलले जनकपुर रोयल्सबाट नेपाल टी-२० लिग खेलेका थिए । जनकपुरको सुरुवाती खेलमा आदिलले एक नोबल फालेका थिए । जसमा फिक्सिङ रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।


ADVERTISEMENT

# # #


गत वर्षको मार्चमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गरेका १९ वर्षीय अलराउन्डर आदिलले नेपालबाट ६ एकदिवसीय खेलमा ७० रन ६ विकेट लिएका छन् । यस्तै ८ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा ११० रन तथा ५ विकेट लिएका छन् ।

मेहबुबले भने नेपाल टी–२० लिग खेलेका थिएनन् । यद्दपि फिक्सिङमा उनले भूमिका खेलेको प्रहरीले जनाइएको छ । ४१ वर्षीय मेहबुब आलमले नेपालका लागि ४ वटा लिस्ट ए र ७ वटा टी–२० खेल खेलेका छन् । उनका नाममा एकै खेलमा सबै (१०) विकेट लिने खेलाडीको विश्वकीर्तिमान समेत रहेको छ । मेहबुबले सन् २००८ मा आईसीसीको डिभिजन ५ मा मोजाम्बिकका सबै विकेट (१०)लिएका थिए ।

यस्तै प्रहरीले अन्य २ जना नेपाली र ६ जना विदेशी खेलाडी समेत फिक्सिङमा संलग्न रहेको पत्ता लगाएको छ । प्रतियोगिता सञ्चालनका अधिकार पाएको भारतीय सेभेन थ्री स्पोर्टस नै फिक्सिङको योजनाकार रहेको प्रहरीको निष्कर्ष छ ।

गत महिना प्रतियोगिता चलिरहँदा स्पट फिक्सिङ भइरहेको भन्दै कमेन्टेटर सचिन तिमिल्सिनाले प्रतियोगिता छोडेका थिए । यस्तै काठमाडौँ नाइट्डसका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एकजना खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेका थिए । लगत्तै गृहमन्त्री रवि लामिछानेले उक्त प्रकरणमा छानबिन गर्न सीइआईबीलाई निर्देशन दिएका थिए ।

साथै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को टोली समेत अनुसन्धानका लागि नेपाल आएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले समेत यसबारे अनुसन्धान गर्न समिति गठन गरेको थियो ।