काठमाडौँ–मुलुकको आर्थिक समस्या समाधानका लागि आवश्यक कदम चाल्न माग गर्दै नेकपा एकीकृत समाजवादीले सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक समस्या समाधानका लागि समाजवादीले २० बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएको हो ।


ADVERTISEMENT


मुलुकमा चरम आर्थिक सङ्कट परेको, बैङ्कको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको मुलुकमा राजस्वले नियमित खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको लगाएतका बिषयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको उपमहासचिव विजय पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैंक तथा विभिन्न वित्तीय संस्थाको ऋण तिर्न नसकेर दैनिक जसो किसान तथा साना र मझौला व्यवसायीहरूले आत्महत्या गरिरहेका र ठुला व्यवसायीहरू पनि गम्भीर सङ्कटतर्फ उन्मुख भएको उनले बताए । उद्योग÷व्यवसाय धराशायी हुँदै गएपछि बैङ्कको ऋण असुलीमा गम्भीर समस्या देखिएको भन्दै सुधारका लागि सुझाव दिएको पौडेलले बताए ।

ज्ञापनपत्रमा देशबाट जनशक्ति र पूँजी सँगसँगै पलायन भईरहेको भन्दै बौद्धिक तथा युवा जनशक्ति र विद्यार्थीको पलायन रोक्न तत्काल कदम चाल्न माग गरेको छ ।

प्रधानमन्त्री दाहालले यस विषयमा सरकार गम्भीर रहेको बताउँदै आफू समस्या समाधानका लागि सबै सरोकार पक्षसँग छलफल गर्ने बताए । उनले बजार भाउलाई नियन्त्रण गर्न नीतिगत रुपमा नै आवश्यक परिवर्तन गरी जनजीविका सहज गराउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

उक्त अवसरमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत शीर्षनेताको पनि उपस्थिति थियो ।