काठमाडौं-विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति मन्दिर परिसरमा मंगलबारबाट सवारी साधन निषेध गरिएको छ । यसअघि काठमाडौंको ठमेललाई सवारी मुक्त गरेको ट्राफिक प्रहरीले अब पशुपति मन्दिर परिसरमा पनि गाडीहरु निषेध गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले भने, ‘विश्व सम्पदा सूचीमा रहेको र श्रद्धालुलाई सहजरुपमा दर्शनको व्यवस्था गर्नलाई पनि यो आवश्यक देखियो ।’


ADVERTISEMENT


यसअघि पशुपतिको पश्चिम र दक्षिण ढोकासम्मै गाडीहरु आउने जाने गर्न पाउँथे । यसबाट भक्तजनहरुलाई हिँडडुलमा अप्ठेरो हुने गरेको थियो । ‘मानिसहरु आध्यात्मिक चिन्तनको हिसाबले जाने भएकाले त्यहाँ अनावश्यक गाडीहरु लिएर जाँदा समस्या देखियो,’ डीएसपी मरासिनीले भने, ‘अब मन्दिर परिसरमा स्वच्छ, सफा र भक्तजनहरुलाई पनि सहज हुने विश्वास लिएका छौं ।’


ADVERTISEMENT

# # #


शव बाहन र एम्बुलेन्सलाई छुट, घर भएकालाई पास

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आएको बेला पशुपतिनाथ मन्दिरको मूलढोकासम्मै गाडीहरु लगिएको थियो । यसअघि शिवरात्री, तीज, बालाचतुर्दशीजस्ता ठूला चाडपर्वहरुमा मात्र पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान पाइँदैनथ्यो । अब भने सधैंका लागि पशुपति क्षेत्रलाई सवारी मुक्त गराइएको छ ।

प्रवक्ता मरासिनीका अनुसार शव बाहन र एम्बुलेन्सलाई भने पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छैन । पशुपति आर्यघाटमा दर्जनौं शव दाह हुने भएकाले शव बाहनलाई भने भित्रैसम्म आउन-जान दिइने छ । पशुपति क्षेत्र वरपर घर भएकाहरुले भने आफ्नो घरसम्म गाडी लैजान सक्नेछन् । त्यसको लागि पास लिनुपर्ने छ ।

‘घर भएकाहरु आफ्नो घरसम्म जान सक्नुहुन्छ, त्यसका लागि पासको व्यवस्था मिलाइएको छ,’ उनले भने ।

फर्किनका लागि सुमार्गी भवन (चारमूर्ति)तर्फको बाटो प्रयोग गर्नुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।