काठमाडौं– विराटनगर वारियर्स एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।


ADVERTISEMENT


बुधबार भएको पहिलो क्वालिफायरमा भैरहवा ग्लाडिएटरलाई ८ विकेटले पराजित गर्दै विराटनगर फाइनलमा प्रवेश गरेको हो। भैरहवाले भने दोस्रो मौका पाउनेछ। आजै हुने एलिमिनेटरमा ललितपुर प्याट्रिओट्स र पोखरा राइनोजबीच हुने खेलको विजेतासँग भैरहवाले भोलि खेल्नेछ।


ADVERTISEMENT

# # #


१ सय २८ रनको लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेटको क्षतिमा पार गर्‍यो।

विराटनगरको जितमा बाबर हायतले अर्धशतक प्रहार गरे। आक्रामक ब्याटिङ गरेका बाबरले ४४ बलमा ६२ रन जोडे। उनले ४ चौका र ५ छक्का प्रहार गरे।

कप्तान पारस खड्काले नटआउट ४२ रन जोडे। उनले २४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। अंशुमान राथ पनि २६ रनमा नटआउट रहे। उनले ३२ बल खेल्दा २ चौका हाने। ओपनर आसिफ शेख भने पहिलो ‌ओभरमै शून्य रनमा हरिशंकर साहबाट बोल्ड भएका थिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रन जोड्यो।

भैहरवाका लागि पुनित मिश्राले सबैभन्दा बढी ४९ रन जोडे। उनले करण केसीको बलमा आउट हुनुअघि ३४ बलमा ३ चौका र ३ छक्का हिर्काए। यस्तै, आरिफ शेखले ४६ रन जोडे। आरिफले १ चौका र ३ छक्का प्रहार गरे। उनले पुनित मिश्रासँग पाँचौं विकेटका लागि ८२ रनको साझेदारी गरे।

कुनै बेला ४ विकेट गुमाउँदा २७ रन जोडेको भैरहवाको इनिङ आरिफ र पुनितले उकासेका थिए। खेलको १५औं ओभरमा विराटनगरका सहान अदिसालाई २२ रन प्रहार गरेपछि भैरहवाको स्कोरले गति लिएको थियो।

खराब सुरुवात गरेका भैरहवाका ओपनर भूपेन्द्र थापा २ रनमै आउट भए। उनका ओपनिङ पार्टनर राहुल यादव ७ रनमै पेभिलियन फर्केपछि भैरहवाले छैटौं ओभरमा २ विकेट गुमाएको थियो। भैरहवाका कप्तान शरद भेषावकर पनि ८ रनमा आउट भए भने रोहितकुमार पौडेल ६ रन बनाएर खेलिरहँदा सहान अदिसाबाट बोल्ड भए। प्रथम सालुके ३ रनमा आउट भए।

बलिङतर्फ विराटनगरका सहान र करण केसीले २/२ विकेट लिए। पारस खड्का, बसन्त रेग्मी र अभिनास कर्णले १/१ विकेट लिए।