भीमदत्तनगर– द टिम्बर कर्पोरेशन अफ नेपाल, (टिसिएन) भीमदत्तनगर शाखाले भूकम्पपीडितलाई उपलब्ध गराउन भूकम्प पुनःनिर्माण प्राधिकरणलाई २० हजार क्युफिट चिरान काठ उपलब्ध गराएको छ ।


ADVERTISEMENT


भूकम्पपीडितलाई घर बनाउन काठ उपलब्ध गराउने दुई वर्षअघिको सरकारी योजनाअनुसार गत चैत महिनामा यहाँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हावाहुरीले ढालेका रुख संकलन गरी पीडितलाई दिने निर्णय गरिएको थियो ।


ADVERTISEMENT

# # #


सोहीअनुसार हालसम्म यहाँबाट प्राधिकरणका लागि काठमाडौँ २० हजार क्युफिट काठ पठाइएको द टिम्बर कर्पोरेशन अफ नेपाल, (टिसिएन) भीमदत्तनगर शाखाका सहायक प्रबन्धक खेमराज जोशीले जानकारी दिए ।

उनका अनुसार शुक्लाफाँटा निकुञ्जबाट भूकम्पपीडितका लागि भन्दै एक लाख ४७ हजार क्युफिट काठ संकलन गरिएकामा २० हजार प्राधिकरणमा पठाइसकिएको छ भने ७० हजार क्युफिट काठ यहाँका सःमिलमा चिरान हुँदैछ । “काठ यहाँ चिरान गर्दै काठमाडौँ पठाउँदै गरेका छौँ ।” टिसिएनका सहायक प्रबन्धक जोशीले भने, “अबको छ महिनाभित्र सम्पूर्ण काठ प्राधिकरणमा पुगिसक्छ ।”

संकलन गरिएका काठमध्ये १० प्रतिशत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती व्यवस्थापन समिति र २० प्रतिशत टिसिएनले आन्तरिक खपत गर्ने सहायक प्रबन्धक जोशीले बताए । “महेन्द्रनगर र धनगढी गरी चार वटा सःमिलमा काठ चिरान हुँदैछ ।” उनले भने, “निर्णय भएअनुसारको काठ टिसिएन धनगढी र महेन्द्रनगरबाट आन्तरिक खपत हुनाका साथै मध्यवर्तीलाई पनि दिइन्छ ।”

काठ ढुवानी र चिरानका लागि पुनःनिर्माण प्राधिकरणले टिसिएनको केन्द्रीय कार्यालयमा रकम प्रदान गरेको र सोही बमोजिम व्यवस्थापन भइरहेको छ ।

टिसिएनका अनुसार अझै करिब ५५ हजार गोलिया चिरान गर्न बाँकी छ । शुक्लाफाँटाबाट संकलन गरिएका गोलिया काठ यहाँस्थित मझगाउँ एयरपोर्ट छेउमा र शुक्लाफाँटाको अर्जुनी क्षेत्रमा घाटगद्दी गरी राखिएको छ ।