काठमाडौँ – युएईमा आजदेखि सुरु भएको यू–१९ क्रिकेट विश्वकप एशिया क्षेत्र छनोटको पहिलो खेलमा नेपाल यू–१९ टोलीले जित हात पारेको छ । शुक्रबार नेपालले सिंगापुर यू–१९ टोलीलाई ९६ रनले पराजित गरेको हो ।
युएईको अजमानस्थित इडेन गार्डेन ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरले पूरै ५० ओभर खेलेर ७ विकेटको क्षतिमा १६५ रन मात्रै बनाउन सकेको हो ।
१३ ओभरमा ३० रन बनाउँदा ३ विकेट गुमाएपछि सिंगापुर सुरुमै दबाबमा आएको थियो । तर, सिद्धान्थ श्रीकान्त र आर्यान मोदीले चौथो विकेटका लागि महत्वपूर्ण ८२ रनको साझेदारी गरेपछि जित हात पार्न नसके पनि सिंगापुरले सम्मानजनक स्कोर बनाएको हो । त्यसक्रममा रन आउट हुनुअघि आर्यानले १०० बलमा २ चौकाको मदतमा सर्वाधिक ५८ रन बनाए । यस्तै सिद्धान्थले ८० बलमा १ चौका र १ छक्कासहित ४४ रनको योगदान दिए ।यस्तै अर्जुन नागपाल र अभुदय छजेरले समान १४–१४ रनको योगदान दिए । अन्यले दोहोरो अंक छुन सकेनन् ।
बलिङतर्फ नेपालका लागि हेमन्त धामी र सुवास भण्डारीले समान २–२ विकेट लिए । विशाल विक्रम केसीका नाममा १ विकेट रह्यो ।
यसअघि आकाश त्रिपाठी र विशाल विक्रम केसीले शानदार ब्याटिङ गरेपति नेपालले उच्च योगफल बनाउन सफल भयो । सो क्रममा आकाशले १०० बलमा ७ चौका र १ छक्काको मदतमा ७८ रन जोडे । यस्तै विशालले ५४ बलमा ४ चौका र २ छक्काको मदतमा नटआउट ६३ रनको योगदान गरे । दोस्रो विकेटका लागि आकाश र अर्जुनले महत्वपूर्ण ९३ रनको साझेदारी गरे ।
यस्तै अर्जुन कुमालले ३७, कप्तान देव खनालले २१, दीपक बोहराले १७, सुवास भण्डारीले नटआउट १२ र दीपक डुम्रेले १० रन बनाए ।
बलिङतर्फ सिंगापुरका अभुदय छचेर र आर्यभीर चौधरीले समान २–२ विकेट लिए । यस्तै आदित्य भर्गवा र महियु भाटियाले समान १–१ विकेट लिए ।
नेपालले भोलि कुवेत यू–१९ टोलीसँग खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ । सन् २०१६ देखि यू–१९ विश्वकप खेल्न नसकेको नेपालले यसपटक विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ ।