वीरगञ्ज– केही यता पश्चिमी वायु पुनः सक्रिय भएका कारण कठ्याङ्ग्रिने जाडोमा बाराको तेलकुवामा रहेका मुसहर बस्तीका दलितहरु प्रभावित भएका छन् ।
एकसय ६० घरधुरी रहेको मुसहर बस्तीका अधिकांश फुसको घरमा गतिलो ओढ्ने ओछ्याउने कपडा अभाव भएकाले अत्यधिक चिसोमा जनजीवन नै कष्टकर भएको ७० वर्षीय तनु माझीको गुनासो छ ।


ADVERTISEMENT


लोकतन्त्र प्राप्तिपछि देशमा ठूलाठूला परिवर्तन भए पनि तेलकुवाका मुसहरहरुको जीवनमा परिवर्तन आउन नसकेकाले कठ्याङ्ग्रिने जाडो छल्न आगोको सहारा लिनुपर्ने बाध्यता रहेको बाबुलाल माझी पिडा सुनाउँछन् ।


ADVERTISEMENT

# # #


सधैँभरि अभाव र पीडाबीच गुज्रिएका मुसहर छानाविहीन छाप्रोमा बस्नु पर्ने बाध्यताका कारण विभिन्न रोगबाट प्रभावित भएको सञ्चारकर्मी तथा मानवअधिकारकर्मी श्यामबाबु यादवको भनाइ छ ।

कलैयाको बरियारपुर सडकखण्डको भुतहीपुलदेखि करिब दुई किमीको दूरीमा रहेको सो बस्ती छेउबाट खोला बगेको छ । साउनको अन्तिम साता आएको वर्षाका कारण बाढीले बस्तीका लत्ताकपडा बगाएर लगेको पीडा ताजा नै छ भने अर्कोतिर जाडो र शीतलहरको कहर पनि हामीमाथि नै थपिएकाले हाम्रो जीवन कष्टकर बन्न थालेको भरछिया माझीे गुनासो गर्छन् ।

जाडो बढ्दै गएपछि बाराको दलित बस्तीमात्र नभएर पर्सालगायत प्रदेश नं २ को जनजीवन कष्टकर बन्दै गएको छ । बढ्दो चिसोले निमोनिया, दम र डायरियाका बिरामी बढ्न थालेको स्वास्थ्य संस्थाको भनाइ छ ।

जाडो बढ्न गएकाले शीतलहर र हुस्सुका कारण यातायात क्षेत्र, दैनिक मजदुरी गर्ने मजदुर बालबालिका वृद्धवृद्धा प्रभावित भएका छन् भने चिसोका कारण मानिस घरबाहिर निस्कन सकेका छैनन् । अधिकांश मानिस चिसोबाट बच्न आगोको साहारा लिन थालेका छन् । शीतलहरका कारण किसानले खेतबाट धान उठाउन र गहुँ खेती पनि गर्न सकेका छैनन् ।