काठमाडौं-चार महिनादेखि ठेकेदारले काम छाडेपछि राजधानीबाट मध्यपूर्वी पहाड जोड्ने लामोसाँघु–जिरी सडक विस्तार आयोजना अलपत्र परेको छ ।


ADVERTISEMENT


सरकारले एक्जिम बैंकको सहयोगमा अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट सुरु हुने लामोसाँघु–जिरी सडकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ५५ किलोमिटर खण्ड विस्तार गरिरहेको छ ।


ADVERTISEMENT

# # #


दुई प्याकेजमा भइरहेको सडक विस्तारको पहिलो खण्डको जिम्मा पाएको ठेकेदार कम्पनीले तीन महिनायता काम छाडेका कारण अलपत्र परेको हो । खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटर रहेको पहिलो खण्डको जिम्मा पाएको ठेकेदार कम्पनीले भदौदेखि नै काम रोकेको हो । ३९ करोड रुपैयाँ लागतमा बन्न लागेको यो खण्ड भारतीय कम्पनी सिमाञ्चल र नेपाली कम्पनी गौरी पार्वती र सुनौला खिम्तीले संयुक्त उपक्रममा ठेक्का लिएका हुन् ।

आयोजनाका अधिकारीहरुका अनुसार भदौदेखि काम रोकेका कारण भत्काइएको सडकका संरचना अलपत्र परेका छन् । खाल्डाखुल्डी र दायाँबायाँ भत्काइएका संरचनाका कारण सडकमा आउजाउ गर्ने सर्वसाधारण पनि कष्ट बेहोरिरहेका छन् । २०७२ भदौदेखि काम सुरु भएको आयोजनाको काम ठेकेदारले छाडेका कारण अलपत्र पर्दा कामको समयतालिका समेत पछि धकेलिएको छ । यसअघि स्थानीय चुनावमा समेत करिब तीन महिना काम प्रभावित भएको थियो ।

पहिलो खण्डमा ठेकेदारले काम छाडेका कारण समस्या भएको आयोजना प्रमुख केदार नेपालले जानकारी दिए । ‘पहिलो खण्डमा काम ठप्प भएपछि ठेकेदार कम्पनीलाई पटकपटक पत्राचार गरिरहेका छौं,’ प्रमख नेपालले भने, ‘केही दिनभित्र सम्पर्कमा आउछु भनेका छन् ।’

पहिलो खण्डमा ५० प्रतिशतमात्र काम सम्पन्न भएको उनले जानकारी दिए । काम सम्पन्न नभएका कारण गत भदौमा यो खण्डको ठेकेदारको म्याद एक वर्ष थप भएको थियो ।

उक्त एक वर्षको म्याद भेटाउन हालसम्म ८० प्रतिशत काम सक्नुपर्ने भएपनि नसकेका कारण समय तालिकामा असर परेको आयोजनाले जनाएको छ । भूकम्प र नाकाबन्दीका कारण पनि काममा असर गरेको उनले बताए । दोस्रो प्याकेजको मुडेदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको खण्डको काममा केही सुस्तता देखिए पनि काम भने सन्तोषजनक रहेको नेपालले जानकारी दिए ।

३० किलोमिटर खण्डको यो सडक भारतीय कम्पनी सकिल हैदर संगथको साझेदारीमा शंकर माली सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्का जिम्मा पाएका हुन् । दोस्रो खण्डको भने म्याद थप गर्नुनपर्ने आयोजनाले जनाएको छ ।