काठमाडौँ – नेपाली स्टार स्पिनर सन्दीप लामिछाने क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को एकदिवसीय क्रिकेटको बलिङतर्फको वरियतामा उत्कृष्छ छलाङ मारेका छन् । बुधबार सार्वजनिक एकदिवसीय तर्फको बलिङको नयाँ वरियतामा सन्दीप २१औँ स्थानमा उक्लिएका हुन् ।
वरियतामा २ स्थान माथि उक्लिँदै सन्दीपले अहिलेसम्मकै उत्कृष्ट स्थान हासिल गरेका हुन् । उनले भारतका कूलदीप यादव, जस्प्रित बुम्राह, दक्षिण अफ्रिकाका लुंगी इंगिदी र श्रीलङ्ककका वानिन्दु हसरंगा लगायतका बलरलाई पछि पारेका छन् ।
एकदिवसीय वरियतामा बलिङतर्फ नेपालका सोमपाल कामी ६०औँ स्थानमा रहेका छन् । उनी ३ स्थान माथि उक्लिएका हुन् । यस्तै नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी २ स्थान माथि उक्लिदै ६३औँ स्थानमा रहेका छन् भने करण केसी ३ स्थान माथि उक्लिँदै ९५औँ स्थानमा रहेका छन् ।
सन्दीपले मंगलबार भएको खेलमा पपुवा न्यूगिनीविरुद्ध ५ विकेट लिएका थिए । उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान नजिक छन् । उनले अब ४ खेलमा २ विकेट लिन सके उक्त कीर्तिमान आफ्नो नाममा लेखाउने छन् ।
अफगानिस्तानका राशिद खानले ४४ एकदिवसीय खेलमा १०० विकेट पूरा गर्दै अष्ट्रेलियाका मिचेल स्टार्ककको कीर्तिमान भंग गरेका थिए । सन्दीपले ४० खेलमा ९८ विकेट लिइसकेका छन् ।
राशिदको कीर्तिमान तोड्न सन्दीप २ विकेट मात्रै टाढा रहेका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२को अन्तिम खेल नेपालले भोलि युएईविरुद्ध खेल्दैछ । उक्त खेलमा २ विकेट लिनसके सन्दीपले भोलि नै कीर्तिमान बनाउने सम्भावना रहेको छ ।