दाङ – बबई गाउँपालिका–७ की ४८ वर्षीया शारदा गन्धर्व अचेल बिहानदेखि तरकारी बारीमा काम गर्न व्यस्त छिन् । अहिले उनीमात्र होइन यहाँका अतिविपन्न समुदायका १० महिला पनि उनीसँगै तरकारी खेतीमा व्यस्त हुन्छन् ।


ADVERTISEMENT


उनले भनिन्, ‘सरकारले हामीलाई घर त बनाइदिएको छ, तर गरी खाने अवस्था सहज छैन, त्यसैले खाना तथा घर खर्च चलाउनका लागि अहिले १० जना मिलेर सामूहिक तरकारी खेती शुरु गरेका छौँ ।’ उनीहरुले यहाँका एक व्यक्तिको दुई बिघा जमिन वार्षिकरुपमा भाडामा लिएर तरकारी खेती गरेका छन् ।


ADVERTISEMENT

# # #


मासिक रु. ३० हजारमा जग्गा भाडामा लिएर गरेको शारदाले बताइन् । ‘आफूहरुले अहिलेसम्म उत्पादन गरेको तरकारी केही बारीबाट र केही हापुरे बजार लगेर बिक्री गर्न सफल भयौँ, आम्दानी पनि राम्रो भयो, अहिले खुसी पनि छौँ, घरमा खर्च चलाउन सजिलो भएको छ, अब तरकारी खेतीमा रमाएर राम्रो आम्दानी गर्न अझै मेहनत गर्छौँ, बेमौसमी तरकारी खेती पनि गर्छौँ’, उनले भनिन् ।

सोही ठाउँमा तरकारी खेती गरेकी ४५ वर्षीया वसन्ती गन्धर्वले पनि तरकारी खेतीले आफ्नो दैनिकी धान्न सहज भएको बताइन् । उनले भनिन्, ‘यसअघि हाम्रो घरबास त थियो तर, दैनिकरुपमा जीवन चलाउनका लागि कुनै माध्यम थिएन, अहिले भने सहज भएको छ, पर्याप्त सिँचाइ, आधुनिक कृषि औजार नहुँदा भने समस्या हुने गरेको छ ।’

सोही समूहमा तरकारी खेती गरेकी ४० वर्षीया गीता वादीले आफू यसअघि पनि तुलसीपुर बजारमा बसेर विगत १० वर्षसम्म मकै पोलेर बिक्री गरी जिवन निर्वाह गर्दै आएको भए पनि अहिले भने तरकारी खेतीतर्फ आकर्षित भएको बताइन् ।

‘अहिले आफ्नै ठाउँ गाउँमा तरकारी खेतीमा रम्न पाउँदा निकै खुसी छु, मेहनतअनुसार आम्दानी पनि गर्न सकेका छौँ, आफूहरुले गरेको तरकारी खेती हेर्न अहिले धेरै आउनुहुन्छ, केही समयअघि गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षसहितको टोली आयो, उहाँहरुलाई आफैँले उत्पादन गरेको टमाटर, भन्टा, आलु तरकारीको माला लगाएर स्वागत गर्‍यौँ, त्यसबाट पनि निकै खुसी लाग्यो’, उनले भनिन् ।