काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार हुने नेपाल र यूएईबीचको खेलमा दर्शकबाट उठेको टिकटको रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिके मैदानमा भोलि हुने उक्त खेलमा टिकट मूल्यबापत उठ्ने सबै रकम क्रिकेट खेलाडीको हक र हितका लागि खडा गरिएको उक्त कल्याणकारी कोषमा राखिने क्यानले सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो । क्यानले भनेको छ, ‘नेपाल क्रिकेट संघले नेपाल र युएईबीचको खेलको टिकट बिक्रीबाट प्राप्त हुने सबै राजस्व क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने घोषणा गरेको छ ।’
२० हजार दर्शक क्षमता भएको त्रिवि क्रिकेट मैदान भोलि पूर्ण रुपमा भरिने अनुमान गरिएको छ ।क्यानले खेल हेर्नका लागि सामान्यतर्फ प्रवेश शुल्क प्रतिव्यक्ति १२० रुपैयाँ तोकेको छ ।
पूर्ण क्षमतामा दर्शक गएमा क्यानले भोलि करिब २३–२४ लाख रुपैयाँ आम्दानी गर्नेछ । खेलाडी घाइते हुँदा उनीहरुको उपचार, रिह्याब, खेलाडीको वृत्तिविकास लगायतका कल्याणकारी काम तथा खेलाडीलाई आर्थिक सहायता प्रदान गर्ने कार्यमा उक्त रकम प्रयोग हुने बताइएको छ ।
आश्चर्यजन प्रदर्शन गरिरहेको नेपालले भोलि यूएईविरुद्ध जित हात पारे सोझै आगामी जुन–जुलाईमा जिम्बाब्बेमा हुने एकदिवसीय विश्वकप छनोटमा पुग्नेछ ।