नेकपा एमालेका नेता तथा युवासंघ नेपालका सचिव पर्शुराम बस्नेतसंग हिमालय पोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


संविधान कार्यान्वयनका लागि भन्ने गरिएको प्रदेश र प्रतिनिधिसभा  निर्वाचन सम्पन्न भइएसकेका छन् । त्यसमा वाम गठबन्धन वा नेकपा एमाले पहिलो शक्तिको रुपमा आएको छ । के भन्नुहुन्छ ?


ADVERTISEMENT

# # #


हो, हामीले संविधान कार्यान्वयनका लागि तीनवटै निर्वाचन सम्पन्न गरिसकेका छौँ । पहिलो चरणको निर्वाचनमा हामीले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर स्थानीय सरकारको निर्माण गर्यौँ । संविधानको कार्यान्वयनकै सन्दर्भमा सम्भवत संसारको इतिहासमै पहिलो पटक हामीले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै पटक सम्पन्न गरेका छौँ । यो हाम्रो ठूलो उपलब्धी हो । राजनीतिक आन्दोलन समाप्त भएर विकासको आन्दोलन प्रारम्भ हुने यो निर्वाचन कांग्रेस नेतृत्वको सरकारले आफ्नो अनुकुल परिणाम नआउने जान्दाजान्दै पनि सफल बनाएको छ । यसका लागि हामीले धन्यवाद दिनैपर्छ । नेपाली जनताले स्थायित्व चाहिरहेका बेला हाम्रो पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डले वाम गठबन्धन गरेर पार्टी एकतासम्म गर्ने जुन किसिमका निणर्य गर्नुभयो । त्यसलाई मतपरिणामका माध्यामबाट नेपाली जनताले स्वीकार गरिसकेका छन् । अब मुलूकले स्थायित्व पाउँछ भन्ने कुरामा नेपाली जनता ढुक्क छन् र वाम एकताका लागि खबरदारी पनि गरिरहेका छन् ।

तर बहुमत प्राप्त गरेपनि सरकार गठनको काममा ढिलाई भइरहेको छ । दुई पार्टीबीच केही कुरामा विवाद पनि देखिन्छ । यसलाई युवासंघले कसरी हेरिरहेको छ ?

हामी लामो समयदेखि लोकतन्त्रको पक्षमा वकालत गर्दै आइरहेका छौँ । मुलूकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यो नारा भनेको हामी युवाहरुको नारा हो । यसको स्थापनाका लागि हामीले महत्वपूर्ण योगदान दिएका छौँ । हामी अब के भनिरहेका छौँ भने सरकार बनाउने कुरामा जुन ढिलाई भइरहेको छ । त्यसमा हामी चाँडो गर्न आग्रह गर्छौँ । निर्वाचन आयोगले यसको प्रक्रिया अब तुरुन्तै सुरु गर्नुपर्छ । राजनीतिक कुराहरुलाई राजनीतिक रुपमा नै समाधान गर्नुपर्छ । नेपाली कांग्रेसले पनि अब वाम गठबन्धनको सरकार निर्माणमा सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा हो । हामीले अन्य दलका युवाहरुसंग पनि छलफल गरिरहेका छौँ । जुन विश्वास जनताले वाम गठबन्धनलाई दिएका छन् । त्यो जनमतलाई नेपाली कांग्रेसले पनि साथ दिनुपर्छ भन्ने हाम्रो विश्वास हो । माघको अन्तिम सातासम्म सरकार बनिसक्छ भन्ने हामीले अपेक्षा राखेका छौँ ।

तर सरकार निर्माणका लागि माओवादी र एमालेबीच केही लेनदेन कुरा पनि आएको छ । जस्तो पार्टी अध्यक्ष को हुने, सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरामा विवादजस्तै देखिएको छ । माओवादीले सबै कार्यकारी पद एमालेलाई दिन नमानिरहेको भन्ने बुझिन्छ नि ? यसमा युवासंघको धारणा के हुन्छ ?

युवा संघ नेपाल त पार्टी एकताको पक्षमा आजभन्दा तीन वर्ष अगाडी नै युवासंघका हामी साथीहरु गएर वाम एकताको लागि कुरा गरेका थियौँ । तर जे भएपनि तीन वर्षपछि पार्टी एकताले एउटा नयाँ मोड लियो । त्यसमा हामी सबै युवाहरुको साथ र सहयोग छ । केन्द्रदेखि स्थानीय तहसम्म सबैको भावना एक होस् भनेर हामीले दुबै पार्टीका संगठनलाई एक गरेर संयुक्त निर्वाचन परिचालन कमिटी बनायौँ । संयुक्त घोषणापत्र पनि बने । तर यो एकता नहोस् भन्ने एउटा समूह पनि छ ।  त्यस कारण अब म तपाईको सञ्चार माध्याममार्फत के भन्न चाहान्छु भने मुलूकमा राजनीतिक स्थायित्वले सबै क्षेत्रमा, सबै जनतामा राम्रो गर्छ । एउटा पार्टीको एकपटक बहुमत आयो भन्दैमा सँधैभरी आउँदैन । यदि जनहितको काम गरियो भने जनता जुनसुकै धारमा पनि पल्टिन बेर हुँदैन । त्यस कारण अहिले जनमत हाम्रो पक्षमा देखिएको छ । यसलाई खेर फाल्नु हुँदैन र देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ ।

जहाँसम्म प्रधानमन्त्री को हुने, अध्यक्ष को हुने भन्ने कुरा छ । त्यसको लागि दुबैतर्फका शीर्ष नेतृत्व बसेर टुंगो लगाउनुपर्छ । ‘सबैको विनविन पोजिसन’ हुने हिसाबले जानुपर्छ । अहिलेको मतपरिणाम हेर्दा एमालेलाई प्राप्त भएको मत र कम्रेड केपी ओलीप्रति जनताको आकर्षण हेर्दा एक पटक पाँच वर्षका लागि मुलूकको नेतृत्व दिनुपर्छ भनेर आम मानिस भनिरहेका छन् । प्रधानमन्त्री को हुने भन्ने विषयमा प्रचण्डले पनि निर्वाचन अघि नै भनिसक्नु भएको छ । केपी ओलीप्रति जनताको जुन आशा, अपेक्षा छ । त्यसको पूर्तिका लागि कम्रेड केपी ओली नै पाँच वर्षका लागि प्रधानमन्त्री हुनुपर्छ भन्ने हाम्रो मत हो । अर्को पार्टी अध्यक्षको कुरामा अहिले नै निर्वाचित अध्यक्ष केपी ओलीलाई पदबाट पर राख्दा पार्टीभित्र पनि असन्तुष्टि आउन सक्छ ।

अहिलेलाई दुबै नेताको मानमर्दन नहुने गरी केपी ओलीलाई अध्यक्ष र प्रचण्डलाई सह अध्यक्षको रुपमा बसाउनुपर्छ । तर यसको मतलब हामी प्रचण्डलाई पार्टी अध्यक्षको रुपमा हेर्न चाहान्नौँ भन्ने विल्कुल होइन । ओली प्रधानमन्त्री भइसकेपछि प्रचण्डलाई कार्यबाहक अध्यक्ष दिनुपर्छ र पार्टी महाधिवेशनबाट अध्यक्ष बनाउन सकिन्छ ।

अब वाम गठबन्धनको सरकार बन्दैछ । अझ भनौँ, केपी ओली प्रधानमन्त्री बन्दैहुनुहुन्छ । तपाईजस्ता युवाहरुले देखेको विकास र समृद्धिको शुत्र के हुन सक्छ ? यसका लागि युवा संघको सल्लाह र भूमिका के हुन्छ ?

भाषणमा मात्रै विकास र समृद्धि भनेर मुलुकले त्यी कुराहरु हासिल गर्न सक्दैन । त्यस कारण व्यवहारमा समृद्धिका आधारहरु के के हुन ? भनेर पहिचान गर्न जरुरी छ । पहिलो पटक मुलुक संघीय संरचनामा जाँदैछ । ६ वटा प्रदेशमा वाम गठबन्धनले सरकार निर्माण गर्दैछ । यो अवस्थामा ७ वटै प्रदेशका समृद्धिका आधारहरु के के हुन ? के कुराबाट हामी समृद्ध बन्न सक्छौँ भन्दा पहिलो कुरा त यो मुलुक सबै दृष्टिकोणले एकदमै सुन्दर छ । त्यो सबैलाई थाहा भएकै कुरा हो । प्राकृतिक, धार्मिक, सांस्कृतिक, सामाजिक सबै हिसाबमा हामी सम्पन्न छौँ । नेपालमा जल, जडीबुटी, कृर्षी, पर्यटन आदी क्षेत्रमा ठूलो सम्भावना छ । यिनै क्षेत्रबाट हामीले मुलूकलाई समृद्धिको बाटोमा लैजानुपर्छ ।

पहिलो कुरा पर्यटन नै हो । संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथादेखि अन्य अग्ला हिमाल हाम्रै देशमा छन् । संसारलाई शान्तिको सन्देश दिनसक्ने लुम्बिनी हामीसंगै छ । जलस्रोतमा संसारकै दोस्रो धनी देश हामी छौँ । ८३ हजार भन्दा बढी विद्यतु क्षमता हामीसंग छ । यसको उत्पादनमा हामी जानुपर्छ । हामीसंग धेरै भूभाग कृर्षिजन्य छ । यसको पनि उपयोग गरिनुपर्छ । हामीसंग विश्व अर्थतन्त्रमा आफ्नो अस्तित्व स्थापना गरिसकेका भारत र चीन जस्ता छिमेकी छन् । दुवै देशसंगको सम्बन्ध सन्तुलित बनाउँदै नेपालको स्वार्थ पूरा गर्न सकिन्छ । त्यस कारण यिनै क्षेत्रमा समृद्धिका आधारहरुको निर्माण गर्नुपर्छ । सबै हिसाबले संसारका सबै मानिस नेपालमा आउन सक्ने वातावरणको निर्माण गर्नुपर्छ । यी कुरालाई हामीले निर्वाचनको संयुक्त घोषणापत्रमा पनि उल्लेख गर्न लगाएका छौँ र कार्यान्वयन पनि हुन्छ ।

अब युवासंघ नेपाल कसरी अगाडि बढ्छ ?

हाम्रा नेताहरु कम्युनिस्ट एक भएर विश्वमा नै समाजवादको नुमाना प्रस्तुत गर्न सक्छन्, शान्तिको सन्देश दिन सक्छन् र देशलाई आर्थिक हैसियतमा अगाडी लैजान सक्छन् भन्ने प्रमाणित गराउन लाग्नु भएको छ । वाम गठबन्धनको नेतृत्वमा सरकार बनाएर संसारलाई हामी समृद्धिको एउटा मोडल देखाउने कुरामा हाम्रा नेताहरु हुनुहुन्छ । हामी युवाहरुलाई हाम्रा नेताहरुले पस्किने समृद्धिको मोडल, समृद्धिको खाका संसारलाई साच्चिकैको एउटा उदाहरण हुन्छ भन्ने लागेको छ ।

त्यस कारण पार्टी एकता पनि हुन्छ । मुलुकले समृद्धि हासिल पनि गर्छ । विभिन्न षड्यन्त्र गरेर कम्युनिष्टलाई फुटाएर शासन गरौँला भन्ने नसोच्दा हुन्छ । त्यो हामी हुन दिँदैनौँ । पार्टी एकतालाई टुंगोमा पुर्याउन हरसम्भव हामी प्रयत्न गछौँ । हामी युवाहरुको बलमा नेताहरुलाई एकताको धागोमा बाँध्ने काम गछौँ ।