कास्की– कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरुलाई यसको प्रयोगबारे जानकारी समेत दिएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिएका छन् । महानगरले हाते ट्रयाक्टर दुई सय ६१ थान, कम्बाइन मिल ६२ थान, थ्रेसर छ थान, ग्रास कटर एक सय आठ थान, पावर स्प्रे ३० थान, तेल पेल्ने मेसिन छ थान र ड्याङ बनाउने मेसिन २९ थान अनुदानमा उपलब्ध गराएको छ । कृषि महाशाखाले पोखरा महानगरका २५ वडाका कृषकलाई मागका आधारमा ती उपकरण प्रदान गरेको हो ।
कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले महानगरले ती उपकरण अनुदानमा दिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । किसानलाई खेती गर्न सहज होस भनेर कृषि उपकरण प्रदान गरिएको हो । ‘किसानले गोरु पाल्न छाडे । परम्परागत रुपमा खेती लगाउँदा समय धेरै लाग्छ’, प्रमुख आचार्यले भने– ‘खेतीलाई सरल र सहज बनाउन कृषि उपकरण दिएका हौँ । यसले समय कम लाग्छ । खर्च पनि कम हुन्छ ।’
कृषिमा यान्त्रीकरण, व्यावसायीकरण र बजारीकरण गर्नुपर्नेमा उनले जोड दिए । ‘कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ’, आचार्यले भने । अनुदान सहयोगमा हाते ट्रयाक्टर प्राप्त गरेकी पोखरा महानगरपालिका–३३ की कृषक ज्योती गुरुङले समय र पैसा बचत हुने बताइन् । ‘गाउँमा हाते ट्रयाक्टर थिएन् । पालो कुरेर अरुलाई बोलाउनुपर्ने अवस्था थियो । अनि एक घण्टाको एक हजार रुपैयाँसम्म तिरियो, अब पैसा र समय बचत हुने भयो’, उनले भनिन् ।