काठमाडौं-फेसबुक चलाउनु हुन्छ भने पक्कै मेसेन्जरमा कसै न कसैले तपाईँलाई पनि ‘टच द क्लक’ भन्दै एउटा भिडियो पठाएको हुनुपर्छ । धेरैबाट यस्तै एउटै भिडियो मेसेन्जरमा आउन थालेपछि यसैलाई अहिले ‘घडी आतंक’ भन्ने गरिएको हो ।


ADVERTISEMENT


अरु स्पाम लिङ्कहरु जस्तो यसमा क्लिक गर्दा केही हानी हुँदैन । किनभने यो एउटा सामान्य एनिमेटेड भिडियोमात्र हो । तर यसले दिक्क भने बनाउन सक्छ । यो घडी आतंकको मूलथलो भने भारत हो । कसरी सुरु भयो त यो ?


ADVERTISEMENT

# # #


यो भिडियोमा घडीभित्र ११ वटा विभिन्न शब्द हुन्छन् । १२ को ठाउँमा वर्ष राखिएको हुन्छ । सुरु २०१७ बाट हुन्छ, नकारात्मक शब्द मेटाउँदै २०१८ मा सकारात्मक शब्द देखिँदै जान्छ र नयाँ वर्ष २०१८ को शुभकामना दिइन्छ ।

यो आतंकको मूल भिडियो भने यसरी डिसेम्बर २४ तारिखमा अपलोड भएको थियो ।

अपलोड भारतको स्टायन्डर्ड पब्लिसिटी प्राइभेट लिमिटेडको फेसबुक पेजमा गरिएको थियो । यो भारतको कोलकातामा मूख्य कार्यालय भएको एउटा भारतीय एड एजेन्सी हो ।

डिसेम्बर २९ मा यो ब्लग लेख्दासम्म यो भिडियो ९३२ पटक मात्रै सेयर भएको छ भने २६ हजार पटक मात्रै हेरिएको छ । मूल भिडियोमा कमेन्ट पनि ६८ वटा मात्रै छ । यत्तिकैमा यो पोस्ट आतंक मच्चिने गरी भाइरल हुनु नपर्ने हो ।

तर यो भिडियोको मौलिकपनाले गर्दा धेरैलाई यो मन पर्‍यो । त्यसैले यसलाई डाउनलोड गरेर मेसेन्जरमार्फत् एकले अर्कोलाई पठाए । मेसेन्जरबाट कसैले यो पाउने बित्तिकै अरु धेरैलाई फरवार्ड गर्न थाले ।

यसरी फरवार्ड धेरै हुन थालेपछि फेसबुक पेजमा पोस्ट गरिएको मूल भिडियो भन्दा फरवार्ड भएको भिडियो भाइरल हुन पुगेको हो ।

आफ्नै पेजमा भएको भिडियो ठूलो स्तरमा भाइरल नभए पनि मेसेन्जरमा फरवार्ड भएको भिडियोमा स्टायन्डर्ड पब्लिसिटीको नाम समेत देखिन्छ। त्यसैले यो भारतीय विज्ञापन एजेन्सीलाई भने फाइदै भएको छ आफ्नो प्रचार हुँदा ।

यदि तपाईँले पनि यही भिडियो फरवार्ड गर्दै हुनुहुन्छ भने तपाईँलाई केही पनि फाइदा हुन्न । तपाईँलाई त शुभकामनाका दुई शब्द पनि मौलिक लेख्न नसक्ने, भाइरल भएको भिडियो मात्रै फरवार्ड गर्ने ‘अल्छी फेसबुके’का रुपमा तपाईँका साथीहरुले लिनेछन् ।