काठमाडौँ – काठमाडौँमा हुने एशियन क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको हो । बिहीबार एसीसीले यही वर्षको सेप्टेम्बरमा हुने एशिया कपको छनोट प्रतियोगितामा रहेको एसीसी प्रिमियर कप आगामी अप्रिल १८ (वैशाख ५ गते)देखि सञ्चालन गर्ने गरी खेल तालिका सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


नेपालसहित १० राष्ट्र सहभागी हुने ५० ओभरको प्रतियोगिताको सार्वजनिक खेल तालिका अनुसार आयोजक नेपाल समूह ‘ए’मा परेको छ । समूह ‘ए’मा नेपालसँगै ओमान समेत रहेको छ भने कतार, मलेसिया र साउदी अरेबिया पनि समूह ‘ए’मा नै रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै समूह ‘बी’मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । समूह चरण र नकआउट फर्म्याटमा हुने प्रतियोगिता आगामी अप्रिल १८ (वैशाख ५ गते)देखि सुरु हुने भएको हो । प्रतियोगिताको समूह चरणका खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानीस्थित मुलपानी मैदानमा खेलाइने छ ।

जस अनुसार नेपालको पहिलो खेल वैशाख ५ गते मलेसियाविरुद्ध हुनेछ । त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । यस्तै नेपालले समूह चरणको अन्तिम खेल कतारसँग वैशाख १४ गते कतारसँग खेल्नेछ ।

समूह चरणका शीर्ष २–२ टोली उपाधिका लागि टोली नटआउट चरणमा पुनः भिड्नेछन् । फाइन प्रवेशका लागि समूह ‘ए’को विजेता समूह ‘बी’को उपविजेतासँग भिड्नेछ भने समूह ‘बी’को विजेताले समूह ‘ए’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनलमा जित हासिल गर्ने टोली एशिया कपका लागि छनोट हुनेछ ।

प्रतियोगिताको फाइनल खेल १ मे (१८ वैशाख २०८०)मा त्रिवि क्रिकेट मैदानमा हुने भएको छ । वैशाख २ मे (१९ वैशाख २०८०) लाई रिजर्भ डे (वैकल्पिक दिन)का रुपमा राखिएको छ । एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्ने टोली आगामी सेप्टेम्बरमा युएईमा हुने एशिया कपमा छनोट हुनेछ । विजेता टोलीले समूह ‘ए’मा रहेका भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग खेल्ने अवसर पाउने छ ।

आयोजक नेपाल, ओमान र युएईलाई एसीसी पुरुष प्रिमियर कपको उपाधी दाबेदारका रुपमा हेरिएको छ । पछिल्लो लय र घरेलू मैदानको फाइदा लिँदै नेपालले ऐतिहासिक अवसर बनाउने मौका छ ।

नेपालको खेल तालिका
२०८० वैशाख ५ गते : नेपालविरुद्ध मलेसिया (त्रिवि क्रिकेट मैदान)
२०८० वैशाख ८ गते : नेपालविरुद्ध ओमान (त्रिवि क्रिकेट मैदान)
२०८० वैशाख ११ गते : नेपालविरुद्ध साउदी अरेबिया (मुलपानी क्रिकेट मैदान)
२०८० वैशाख १४ गते : नेपालविरुद्ध कतार (त्रिवि क्रिकेट मैदान)
(समय : बिहान ९:३० बजे)