धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाले सडक किनारालाई हरियाली बनाउने अभियान सुरु गरेकाे छ । विभिन्न सङ्घसंस्थाको सहकार्यमा उपमहानगरले सो अभियान कार्यान्वयनमा ल्याएको हो । अभियानअन्र्तगत मोहना–अत्तरिया सडकमा काठमाडौँको जावलाखेल ग्रुपदेखि नगर विकास कोषको सहयोगमा बिरुवा रोपिएका छन् । सडकको बीचभागमा वृक्षरोपण गर्नुका साथै तारजालीसमेत लगाएको छ ।
६ लेन सडकको धनगढी चौराहबाट भन्सारसम्म तारजाली लगाउने काम जावलाखेल ग्रुपले गरेको हो । बोराडाँडीबाट विमानस्थल जाने बाटोसम्म धनगढी उपमहागरले आफ्नै लगानीमा बोटबिरुवा रोपेको जनाएको छ । ‘छ लेन सडकमा वृक्षरोपण लगाउनुका साथै तारजाली लगाउने काम भएको छ’, धनगढी उपमहानगरका इञ्जीनियर उपेन्द्र भट्टले भने । ‘यसमा जावलाखेल ग्रुप, सूर्य नेपाल प्रालि, धनगढी विकास समिति र उपमहानगरको लगानी रहेको छ ।’ सूर्य नेपालले यएरपोर्ट जाने बाटोबाट गोदावरी नगरपालिका अर्थात् सिमानासम्म बोटबिरुवा रोप्ने र तारजाली लगाउने काम गरेको इञ्जीनियर भट्टले जानकारी दिए ।
६ लेन सडक विभिन्न भागमा विभिन्न प्रजातिका बोटबिरूवा तथा फूलको बोट रोपेका हुन् । उपमहानगरपालिकालाई हरियाली तथा सौन्दर्यीकरण बनाउन सडकमा वृक्षरोपण गरिएको नगरप्रमुख गोपाल हमालले बताए । नगरलाई सुन्दर, सफा र हराभरा बनाउन वृक्षरोपण अति नै आवश्यक रहेको उनको भनाइ छ । ‘स्वच्छ, सफाका लागि बोटबिरुवा रोप्न आवश्यक छ’, उनले भने “त्यसले गर्दा उपमहागरले वार्षिक दुई हजार बिरुवा रोप्नुका साथै हुर्काउने अभियान बनाएको छ । त्यसमा पनि टि–गार्डसहित हुनेछ ।’
अझ ६ लेन सडकको बीच भागमा बिरुवा र दुबो लगाएर हरियाली बनाउने नगरप्रमुख हमालले बताए । ६ लेनमात्र होइन निर्माणधीन अवस्थामा रहेका सहिदगेट क्याम्पस रोड सडक, ट्राफिक चौराह क्याम्पस चोकलगायतका सडकमा बिरुवा रोप्ने अभियान छ । उनले रोपिएका बिरुवा जोगाउनका लागि स्थानीयको साथ सहयोगबिना सम्भव नभएको बताए ।
वृक्षरोपण र सरसफाइ एकअर्काबीच अन्तरसम्बन्ध रहेकाले यसले सुन्दर र हराभरा देखिने बिरुवाको संरक्षण गर्नुपर्ने उनले जोड दिए । उपमहानगरले रोपिएका बिरुवा हुर्काउनका लागि साँझ, बिहान सिँचाइसमेत गर्ने गरेको छ । उपमहानगरको सडक हरियाली पार्ने अभियानले स्थानीय पनि हर्षित भएका छन् । सडक मिडियम, दायाँ र बायाँ भागमा बिरुवा रोप्ने कार्य अति नै उत्तम भएको धनगढी उपमहानगर–२ का नितेश बटालाले बताए ।
‘धनगढी उपमहानगरले वातावरणमैत्री सडक बनाउने अभियान चालेको छ’, उनले भने, ‘धनगढी प्रदेशमुकाम भएको हुँदा यसले गर्दा प्रदेशकै गौरव बढ्ने छ ।’ उनले बिरुवा रोप्ने कार्य चर्चामा आउनका लागि मात्र नभएर रेखदेख महत्वपूर्ण रहेको बताए । उपमहानगरमा नगरलाई सफा, स्वच्छ बनाउनका लागि सडकलाई हरियालीमात्र होइन, प्लाष्टिकका झोलासमेत निषेध गर्ने अभियान छ । नगर स्वच्छताका लागि जनाउँदै धनगढी उपमहानगरपालिकाले मङ्सिरदेखि प्लाष्टिकका झोला बेच्न र सामान राखेर दिन रोक लगाएको हो । उपमहानगरले प्लाष्टिकका झोला बन्द गरेपछि कपडाका झोला प्रयोग हुन थालेका छन् ।