सिन्धुली– सिन्धुलीको दूधौली नगरपालिका—३ तल्लो खुट्टेपानीमा शनिबार बिहान जंगली हात्तीले रामपरीदेवी सोनारको पसल घर भत्कायो । सुतिरहेका सोनार दम्पती भाग्न सफल भए पनि घरमा राखिएका फ्रिज, टिभि र अन्य पसलका सामान भने बचाउन सकेनन् ।


ADVERTISEMENT


यतिबेला  हात्तीपीडित दम्पती लखिया सोनार र रामपरीदेवी त्रिपाल टाँगेर बसिरहेका छन् । ‘रातभर हामीले सुत्न पाएका छैनौँ, हात्ती यताबाट आउँछ की उताबाट आउँछ भन्ने त्रासले बुढाबुढी जाग्राम बस्छौँ’, रामपरी देवीले भनिन् ।


ADVERTISEMENT

# # #


गत शनिबार बिहान ३ बजे सोनार दम्पतीको घर भत्काएर गएका दुई वटा हात्ती दिनहुँ साँझपख गाउँमा पसेर विध्वंश मचाउन थालेका छन् । चार दिनयता मात्रै हात्तीले १५ वटा घर भत्काएको वडाध्यक्ष भद्राकुमारी माझीले बताइन् । ‘वडावासी र बस्तीको सुरक्षामा चुनौती थपिएको छ । स्थानीय हात्तीको कारण आंतकित छन्, मानवीय क्षति हुने डर पनि उत्तिकै छ’, उनले भनिन् ।

दिनभरी जंगल बस्ने र साँझ परेपछि बस्ती आउने हात्तीले घरभित्र थन्काइएको र खेतबारीमा लगाइएको अन्नबालीमा समेतमा क्षति पुर्‍याएको छ । पोलेर खाने बेला भएको दूधे मकै, थन्काउन लागिएको गहुँ, कोभी, सागलगायत तरकारी नष्ट गरेको वडाध्यक्ष माझीको भनाइ छ ।

हात्तीबाट हुने क्षति दीर्घकालीन रुपमा समाधान गर्न नगरपालिका र डिभिजन वन कार्यालयसँग सहयोगको याचना गरिरहेको भए पनि हालसम्म कुनै उपाय नसुल्झिएको उनले बताइन् । बर्सेनि पटक–पटक बस्ती पसेर मानवीय तथा भौतिक क्षति गर्ने हात्तीलाई नियन्त्रण गर्न नसकेकोमा प्रभावित तथा पीडित आक्रोसित छन् ।