राष्ट्रिय जनता पार्टी (राजपा)का सह-महामन्त्री डा सुरेन्द्र झासंगको विशेष कुराकानी


ADVERTISEMENT


निर्वाचन सम्पन्न भएर मत परिणाम आइसकेको अवस्थामा राजपाले पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेरिरहेको छ ?


ADVERTISEMENT

# # #


खासगरी तीनवटै निर्वाचन सम्पन्न गराउन हामी सफल भयौँ । संविधानमाथि आधा नेपाली जनताको विवाद थियो । मुलूकमा निर्वाचन हुन्छ भन्ने अवस्था नै थिएन । यस्तो परिस्थितिमा तीनवटै तहका निर्वाचन सम्पन्न हुनु र देशका लगभग सबै पार्टी तथा जनता राष्ट्रिय पर्वका रुपमा यसमा सहभागी हुनु यो लोकतन्त्रका लागि सकारात्मक संकेत हो । नेपालको लोकतान्त्रिक अभ्यास सकारात्मक दिशातिर अगाडि बढ्दैछ भन्ने सन्देश यसले दिन्छ । तर विशेष गरी तीन ठूला राजनीतिक दलका शीर्ष नेताले जुन खालको चरित्र देखाउँदै हुनुहुन्छ, यो दुखद कुरा हो ।

कस्तो खालको चरित्र ?

चाहे त्यो राष्ट्रिय सभा गठनको सवाल होस् वा सत्ता हस्तान्तरण गर्ने सवाल । र सत्ता हस्तान्तरण तुरुन्त गर्नुपर्छ भनेर प्रमुख प्रतिपक्षीले सडकबाटै जुन किसिमका दबाब दिइरहेको छ । यी सबै दुखद कुराका रुपमा लिन सकिन्छ । यसले नेतृत्वमा परिपक्वता नआएको प्रतीत गर्छ । खासगरी तीन ठूला दलहरुले जुन किसिमको राजनीतिक नौटंकी गरिराख्नु भएको छ । यसले जनतामा नैरास्यता थपिएको छ । यसबाट हामीले मुक्त हुनुपर्छ । प्रदेश प्रमुखहरुको नियुक्ती भएको छैन । सांसदहरुले अहिलेसम्म शपथ गर्नसक्नु भएको छैन । यी समस्यालाई राजनीतिक दलहरुले समाधान गर्नुपर्छ ।

राजपा अहिले चौथो शक्तिका रुपमा उदाएको छ । यो राजनीतिक संकटको निकासका लागि तपाईहरुको पनि त केही न केही जिम्मेवारी होला नि ?
हो हामी अहिले चौथो शक्तिका रुपमा आएका छौँ । संघियता र समानुपातिक प्रतिनिधित्व खासगरी मधेसी जनताको बलिदानीबाट आएको हो । खासगरी प्रदेश नं २ मा सरकार गठन गर्न जनताले हामीलाई अभिभारा दिनुभएको छ । त्यस्तै केन्द्रीय संसदमा संवैधानिक मुद्दाको लागि हामी संघर्षरत थियौँ । त्यसलाई पूरा गर्नका लागि चाहे त्यो सिमाङ्कनको कुरा होस् वा स्थानीय तहलाई जनसंख्याका आधारमा पुनर्संरचना गर्ने सवाल होस् । स्थानीय तहलाई प्रदेश माताहत ल्याउने सवाल होस् वा नागरिक समानताको कुरा होस् । यी सबै मुद्दाहरुलाई संसदमा सशक्त उठान गर्नका लागि प्रतिपक्षीको भूमिका जनताद्वारा हामीलाई प्राप्त भएको छ । अड्किराखेका कुराहरुलाई फुकाउनका लागि हामीले पहल गछौँ । अस्ती पनि राष्ट्रपतिलाई भेटेर अध्यादेश पारित गर्न हामीले सुझाव दिएका थियौँ । प्रदेश सरकार निर्माणको कुरा पनि जतिसक्दो छिटो गरौँ भनिराखेका छौँ । हामीले अड्किएका कुराहरुमा सकभर भाँजो हाल्ने काम हामीले गरेका छैनौँ । जतिसक्दो छिटो टंगोमा पुर्याएर देशलाई निकास दिनुपर्छ भन्ने हाम्रो धारणा हो ।

उसो भए राजपा अब पनि प्रतिपक्षमै बस्छ ?

हामीले दुईवटा अभिभारा पाएका छौँ । मैँले अघि नै भनेँ विकृत अवस्थामा भएपनि हामीले संघियता पाएका छौँ । समानुपातिक समावेशिता पनि यो संविधानले स्वीकार गरेको छ । यसको लागि हामीले रगतको खालो बगाएका छौँ । राजपाले एक दशकमा मधेश आन्दोलनको तीनतीन पटक नेतृत्व गरेको छ । हामीले स्पष्ट रुपमा के भनेका छौँ भने मधेशमा मधेशी जनताको सरकार हुनुपर्छ । त्यसको लागि मधेशी गठबन्धनलाई बहुमत दिनोस् भनेका थियौँ । सहिदको सम्मान गर्दै हामीले हाम्रो भनाईलाई जनताले अनुमोदान गरेर यो जिम्मेवारी प्राप्त भएको छ । अब प्रदेश नं २ मा हामी सरकार निर्माण गछौँ । त्यसपछिको पहिलो दायित्व भनेको त्यहाँको भाषा, संस्कृती, सभ्यतालाई जीवित राखेर स्वशासनको अभियानमा हामी अगाडि बढ्छौँ । त्यसपछि खासगरी प्रदेश नं २ का ८ जिल्लामा सामाजिक न्यायको लागि हामीले काम गर्नुपर्छ । प्रदेश नं २ का लागि हामी सत्ता पक्ष नै हौँ ।

जहाँसम्म केन्द्रिय संसदको सवाल छ । अहिले गोरखाली र मधेशी राष्ट्रियता आम्नेसाम्ने भएको छ । त्यो भनेको केपी शर्मा ओलीले जुन नश्लीय राष्ट्रवादलाई पक्षपोषण गर्दै आउनु भएको छ । त्यसले पनि मत पाएको छ । तर वाम गठबन्धनमा ओलीसंगै संविधान संशोधनको पक्षमा रहेको माओवादी केन्द्र पनि छ । वाम गठबन्धनको मतमा संविधान संशोधनको उपस्थिति पनि ४५ प्रतिशत भन्दा बढी छ । त्यसैले हामी के चाहान्छौँ भने संवाद, छलफलको लागि हामी खुला छौँ । वाम र मधेशी गठबन्धन दुबैलाई जनताले अनुमोदान गरेको छ । देशको सम्वृद्धि र विकासको साँचो यी दुई शक्तिबीचमा रहेकाले अन्तरसंवाद हुन आवश्यक छ । संवैधानिक त्रुटीलाई सच्याउनका लागि संवाद भयो भने हामीबीच सहमती हुने सम्भावना पनि प्रवल छ । तर त्यसो भएन भने हामी संसदमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छाैँ ।

उसो भए केपी ओली नेतृत्वको सरकारमा राजपा सहभागी हुने सम्भावना उत्तिकै छ ?

सरकार हाम्रो प्राथमिकता होइन । तर शुशासनको लागि जनतासँग मत माग्ने हो । जनताले हामीलाई त्यसको लागि मत दिनुभएको छ । संसदमा पनि हामी एउटा निर्णयक शक्तिको रुपमा छौँ । त्यसैले हाम्रो दायित्व के हो भने सत्ता सञ्चालनमा पनि आफ्नो सक्षमता देखाएर नेपाली जनताले सुशासनको प्रत्याभूति गर्ने र संवैधानिक विभेदको अन्त्य गर्ने हो । त्यसैका लागि हामी निर्वाचनमा गएका हौँ । जनताले मत त्यसैका लागि दिएका हुन् । तर कुनैपनि सरकारमा मधेशी जनताको मुद्दा, भावना, एजेण्डालाई थालमा राखेर मन्त्री बन्नलाई हामी सरकारमा जाँदैनौँ । हाम्रो संघर्षका एजेण्डालाई तार्किक निष्कर्षमा पुर्याएपछि मात्रै राज्य सञ्चालनमा नेतृत्व गर्ने अवस्था आयो भने सोच्ने अवस्था आउँछ ।

यसलाई स्पष्ट रुपमा भन्दा यदि संविधान संशोधन गर्ने सहमती भए राजपा सरकारमा जान्छ ?

हामी संविधान संशोधन गर्नका लागि जुनसुकै शक्तिसंग सहकार्य गर्न तयार छौँ । संविधान संशोधन गर्ने भनेर नै हामी निर्वाचनमा सहभागी भएका हौँ ।

अन्त्यमा, तपाई समानुपातिकतर्फ सांसदको सूचिमा पनि हुनुहुन्छ । त्यो निकायमा पुगिसकेपछि आफ्ना एजेण्डालाई कसरी कार्यान्वयन गर्नुहुन्छ ?

मैँले अघि नै भनेँ, पार्टीले मलाई जुन अभिभारा दिन्छ । त्यसमा काम गर्न म तत्पर छु । मैँले गर्ने काम भनेको पार्टीले तय गर्ने एजेण्डा, निणर्यमा भर पर्छ । हाम्रो पार्टीको प्राथमिकता भनेको मधेशी भाषा, संस्कृती, भेषभूषा, पहिरन र समानता हो । यसैका लागि हामीले आन्दोलन गरेका हौँ । दोस्रो कुरा शैक्षिक क्षेत्रमा, युवा बेरोजगारीको सवालमा, सामाजिक न्यायको सवालमा, शुशासनको सवालमा, नागरिक समानताको सवालमा, हान्ति सुरक्षाको प्रत्याभूतीको सवालमा ८ वटा जिल्लाको मधेश सबैभन्दा पछाडी छ । त्यसको उत्थानका लागि हामीले काम गर्ने हो । दुई नम्बर प्रदेशलाई एउटा नमूनाका रुपमा स्थापित गछौँ । जसको प्रभाव अन्य प्रदेशमा पर्छ ।

त्योभन्दा पहिला हामीले एउटा लडाईँ लड्नु पर्ने छ । त्यो लडाईँ भनेको केन्द्र र प्रदेशको सम्बन्ध राम्रो बनाउने हो । अहिले अधिकार सम्पन्न प्रदेशको निर्माण भएको छैन । अधिकार कटौती भएको छ । आर्थिक बिनियोजन जनसंख्याका आधारमा होस् । प्रदेशको विकासका लागि राष्ट्रिय र अन्तराष्ट्रिय सम्बन्ध पनि हामीले गर्न पाउँ । त्यस कारण संघियताको सफल कार्यान्वयनका लागि प्रदेश नं २ ले नेतृत्व गर्नुपर्छ ।