काठमाडौं-नर्सको काम बिरामीको आँशु पुछ्ने हो । तर, नेपालमा निजी अस्पतालहरुमा अरुको आँशु पुछ्ने नर्स आफ्नै आँशु पुछ्न बाध्य छन् । यही कारणले नर्सहरु धमाधम विदेश पलायन हुन थालेका छन् ।


ADVERTISEMENT


नेपालमा एउटी सामान्य नर्सको तलव कति होला ? १० हजार ? ३० हजार ? वा ५० हजार ? नर्सको तलबलाई लिएर यस्ता प्रश्न उठ्नु स्वाभाविकै हो । किनकि नर्सिङ्ग पेशालाई राम्रो पेशाका रुपमा गनिन्छ । र, यही कारणले कैयौं किशोरीहरु नर्स बन्ने होडबाजीमा लागेर लाखौं रुपैयाँ खर्च गर्दै पढिरहेका छन् ।


ADVERTISEMENT

# # #


पढ्दाखेरि जति नै खर्च र मेहनत लागे पनि नेपालमा च्याउजस्तै खुलेका निजी अस्पतालमा नर्सहरुले पाउने तलव भने सरकारी अस्पतालहरुको तुलनामा ज्यादै न्यून हुने गरेको छ । कुनै अस्पतालहरुले त नर्सलाई दिने तलब एसएलसी पढेर डिपार्टमेन्ट स्टोरमा काम गर्ने किशोरीलाई जति पनि दिएका छैनन् ।

सेतो पोशाकमा सजिएर रातदिन नभनी, लाज र घीन केही नमानी बिरामीहरुको सेवा गर्ने नर्सहरु बाहिरबाट हेर्दा जति हँसिला र फुर्तिला देखिन्छन्, उनीहरुभित्रको रोदन र आँशुलाई नत मेडिकल सञ्चालक र अस्पतालका सञ्चालकहरुले बुझ्न सकेका छन्, न राज्यको जिम्मेवार निकायले नै ।

नाम चलेका कयौं अस्पतालले नर्सहरुलाई विनातलब स्वंयसेविकाका रुपमा राख्ने गरेका छन् । कयौं अस्पतालले न्यूनतम तलव ६ हजार रुपैयाँसम्म दिएर राखेको उजुरी नेपाल नर्सिङ्ग एशोसिएसनमा बेलाबेलामा पर्ने गरेको छ ।

नेपाल नर्सिङ्ग एशोसिएसनको तथ्यांकअनुसार नेपालका अस्पतालहरुले नर्सलाई स्वंयसेवी राख्नेदेखि ५३ हजार रुपैयाँसम्म तलव सुविधा दिएर काममा लगाइरहेको देखिन्छ । त्यसरी काममा लगाउनेहरुमा निजी अस्पतालहरुले नर्सहरुलाई बढी श्रमशोषण गर्दै आइरहेका छन् ।

पोखरास्थित पोखरा क्षेत्रीय अस्पतालले करिब सयजना नर्सलाई विनापारिश्रमिक स्वयंसेविको रूपमा प्रयोग गरेको पाइएको छ । नेपालकै नाम चलेका ठूला निजी अस्पतालहरुले समेत न्यूनतम ६ हजार रुपैयाँ मात्रै तलव दिएर मासिक तलबमा नर्सहरुलाई खटाइरहेका छन् ।

यस्तै भेदभावका कारण पछिल्लो समय धेरै नर्सहरु विदेश पलायन हुन थालेको नेपाल नर्सिङ्ग एशोसिएसनकी अध्यक्ष तारा पोखरेल बताउँछिन् । पोखरेल भन्छिन्, ‘नेपालमा नर्सहरुलाई निकै भेदभाव गरिएको छ र यही भेदभावकै कारण अहिले थुप्रै राम्रा तथा सिनियर नर्सहरु विदेश पलायन हुन बाध्य छन् ।’