काठमाडौं-एसियाली विकास बैंक (एडीबी)ले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रदान गर्दै आएको अनुदान र ऋण दुवैमा रोक लगाउने चेतावनी दिएको छ ।


ADVERTISEMENT


चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन्तोषजनक काम नगरेको बताउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एडीबीले ऋण र अनुदान रोक्ने चेतावनीयुक्त पत्र लेखेको हो । डिसेम्बरसम्म भएका कामको मात्र भुक्तानी दिने र त्यसपछिको रकम रोक्ने एडीबीको पत्रमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


सन् २०१८ मा उक्त विमानस्थलको ८० प्रतिशत काम सक्ने सरकारी लक्ष्य छ । तर, चिनियाँ कम्पनीले राम्रोसँग काम अगाडि नबढाएका कारण हालसम्म २८ प्रतिशत मात्रै काम भएको छ । डिसेम्बर २०१७ सम्ममा काम सक्ने शुरुको लक्ष्य थियो । चिनियाँ कम्पनीको ढिलासुस्तीका कारण एक वर्ष पछाडि धकेलिएको हो । अहिलेकै गति कायम रहे आगामी एक वर्षमा पनि काम सकिने लक्षण छैन ।

उक्त चिनियाँ कम्पनी एडीबीको कालोसूचीमा छ । अगस्ट २०१५ मै उक्त कम्पनी कालोसूचीमा परेको हो । तर, जनवरी २०१५ मै उक्त कम्पनीले भैरहवा विमानस्थल निर्माणको जिम्मा पाएको थियो । भैरहवा विमानस्थल जिम्मा दिने सरकारी प्रस्तावमा एडीबीको पनि स्वीकृति थियो ।

सुडानको एक आयोजना कार्यान्वयनका क्रममा उक्त कम्पनीले गलत कागजात पेश गरेको एडीबीको ठहर छ । नेपालमा पनि उक्त कम्पनीको काम सन्तोषजनक नदेखिएका कारण ऋण र अनुदान दुवै रोक्ने निर्णय गरेको हो । उक्त विमानस्थल आयोजना प्रमुख ओम शर्माका अनुसार एडीबीले ४० दशमलव पाँच प्रतिशत ऋण र १८ प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

६ अर्ब २२ करोड रुपैयाँमा निर्माणाधीन आयोजनामा ओपेक फन्ड फर इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको ३० प्रतिशत ऋण छ । त्यसबाहेक ११ प्रतिशत नेपाल सरकारको लगानी रहनेछ । ऋण र अनुदान गरी उक्त आयोजनामा एडीबीको ५८ दशमलव पाँच प्रतिशत लगानी छ । दुवै शीर्षकको भुक्तानी एडीबीले रोक्ने भएपछि प्राधिकरण आयोजना अगाडि बढाउने कि नबढाउने भन्ने अन्योलमा परेको छ ।

आयोजना प्रमुख शर्मा भने एडीबीको चेतावनीबाट डराउनु पर्ने स्थिति नभएको दाबी गर्छन् । भन्छन्, ‘ऋण आएन भने विकास बजेटबाट यो आयोजनामा खर्च गर्न सकिन्छ ।’

आगामी दुई महिनामा चिनियाँ कम्पनीले थप १२ प्रतिशत प्रगति नदेखाए ठेक्का तोड्ने मनस्थितिमा प्राधिकरण छ । केही दिनअघि प्राधिकरण र अर्थ मन्त्रालयको टोली भैरहवा विमानस्थल पुगेको थियो । दबावमा परेको चिनियाँ कम्पनीले पछिल्लो समयमा कामदार थपेको छ भने व्यवस्थापन पनि फेरेको छ । नयाँ समूहले कामको गति बढाएको छ ।

अहिले आयोजना साइटमा करिब दुई सय मजदुरलाई काममा लगाइएको छ । थप अढाइ सय दक्ष कामदार चीनबाट ल्याइँदैछ । कामदार थोरै भएको र लक्ष्यअनुरुप काम नभएको बताउँदै प्राधिकरणले निर्माण कम्पनीलाई ‘नोटिस टु करेक्ट’ पठाइसकेको छ । सरकारले ठेक्का तोड्न सक्ने संकेत पाएपछि व्यवस्थापन समूह परिवर्तन गरेको हो ।

तर, मासिक ६ प्रतिशतले काममा प्रगति देखिनुपर्नेमा शून्य दशमलव पाँच प्रतिशतका दरले मात्रै काम भइरहेको छ ।