काठमाडौँ – नेपालले सन् २०३० सम्ममा उच्च मध्यमस्तरको आय भएको देश बन्ने लक्ष्य लिएको छ । यो लक्ष्य हासिल गर्नका लागि नेपालले अहिल्यैदेखि एउटा लय समात्नुपर्ने हो । तर, पछिलो समय देशको अर्थतन्त्र भने दिन प्रतिदिन कमजोर बन्दै गइरहेको छ । अधिकांश आर्थिक सूचाङ्कहरु ऋणात्मक बनिरहेका छन् । महंगी, कालोबजारी, व्यापार घाटा बढेकोबढ्यै छ, राज्यको ढुकुटीमा कर्मचारीलाई तलब खुवाउने पैसाको समेत अभाव भइरहेको छ ।


ADVERTISEMENT


देशको घाइते अर्थतन्त्रलाई मल्हम लगाएर सही दिशातर्फ अघि बढाउन सक्ने व्यक्तिको खोजी हुन थालेको छ । सरकारमा, संसदमा र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न क्षेत्रबाट देशको अर्थतन्त्रको उत्थानका लागि काम गरेर परिणाम दिनसक्ने व्यक्तिको अहिले आवश्यकता छ । अहिले पार्टीभित्र वा पार्टीबाहिर रहेर देशको अर्थतन्त्रको दयनीय अवस्था सुधार गर्दै आर्थिक उन्नतितर्फ डोर्याउन सक्ने खुबी भएका व्यक्ति चाहिएको अवस्था छ । यस्तै व्यक्तिमध्येका एक हुन् मोतीलाल दुगड ।


ADVERTISEMENT

# # #


दशकौँ लामो व्यवसायिक सफलतापछि राजनीतिमा आफ्नो यात्रा अघि बढाइरहेका दुगड नेकपा एमालेका उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखका रुपमा भूमिका निभाई रहेका छन् । देशको जर्जर अर्थिक अवस्था सुधार गर्ने हुटहुटीसहित बोकेका उनी उपयुक्त जिम्मेवारीको पर्खाईमा रहेका छन् ।

व्यवसायमा मोतीझैं चम्किएका मोती 

सेन्चुरी ग्रुप अफ कम्पनीजलाई सफलतापूर्वक चलाइरहेका दुगड पछिल्लो समय नेकपा एमालेबाट राजनीतिमा समेत पाइला अघि बढाइरहेका छन् । प्रतिनिधिसभा सदस्य हुँदै उद्योग राज्यमन्त्री समेत भइसकेका उनले आफ्नो कार्यकाललमा देशको अर्थतन्त्रको उन्नतिका लागि सकारात्मक कामहरु गरेका थिए ।

पाँच दशकअघि कुनैबेला मोतीलाल दुगड इटहरी र धरानमा साइकलमा खाने तेल बेच्ने गर्थे । पिताले स्थापना गरेको तेल उद्योग थियो, जहाँ उनले कलिलै उमेरमा पितालाई सघाउन थालिसकेका थिए । सन् १९८४ देखि मोती दुगडको पूर्ण व्यावसायिक जीवन प्रारम्भ भयो । उनले ‘सेन्चुरी मसला उद्योग’ स्थापना गरे, जुन अहिले लोकप्रिय ब्रान्ड बनिसकेको छ ।

औद्योगिक क्षेत्रको उनको सफलता मोतीझैं चम्किदैछ । विभिन्न उद्योग, होटल व्यवसाय र व्यापारिक भवनका सफल व्यवसायी भएका छन् । सेन्चुरी मसालासहित दुगड स्पाइसेज र विराटनगरको होटल ह्यारिसन दुगड ग्रुपको सफलताका प्रतिकहरु हुन् । पछिल्लो पटक सपिङ मलसहितको पाँचतारे ‘दी सेन्चुरियन होटेल’को पनि स्थापना भइसकेको छ ।

राजनीतितर्फका पाइला

मोतीले उद्योग व्यवसाय राम्रैसँग चलाइरहेका थिए । निजी क्षेत्रमाफर्त राज्यको अर्थतन्त्रमा योगदान दिइरहेका थिए । सुरुमा राजनीतितर्फ आउने आउने उनको कुनै चाहना थिएन । तर, मधेश आन्दोलनकाबेला उनलाई नेता गजेन्द्र नारायणसिंहले सिंहले राजीनिमा मोतीजस्ता व्यक्तिहरुको खाँचो रहेको भन्दै राजनीतिमा आउन प्रेरित गरिरहे ।

गजेन्द्रनारायणको कार्यशैली, समर्पण र त्यागबाट उनी प्रभावित भएका मोती केही वर्ष उद्योग व्यवसायमै रमाए पनि अन्ततः राजनीतितर्फ पनि आकर्षण बढ्दै गयो । निजी उद्योग व्यवसाय भन्दा राजनीतिमार्फत देशलाई सम्मुन्नत बनाउन धेरै योगदान गर्न सकिने निष्कर्षसहित उनी सद्भावना पार्टीमा जोडिए ।

यद्दपि उनी सद्भावना पार्टीमा उनको बसाई लामो हुन सकेन । नेतृत्वसँग विभिन्न किसिमका असन्तुष्टि र टकरावकाबीच उनले पार्टी छाडेर नयाँ किसिमले अघि बढ्ने निर्णय लिनुपर्यो । सोही अनुसार उनले आफ्नै नेतृत्वमा ‘नव नेपाल निर्माण पार्टी’ गठन गरे । उनको यो कदमलाई धेरैले खिल्ली उडाए । कतिपयले उनलाई व्यापारीले राजनीति गर्न नसक्ने भन्दै निचो बनाउने दुष्प्रयास गरे, कतिले उनको मनोबल गिराउने काम गरे ।

त्यस्तालाई मोतीको जवाफ हुन्थ्यो,  ‘शिक्षण संस्थाहरुमा राजनीति हावी छ । छोराछोरीलाई विदेशमा पढ्न पठाउनु परिरहेको छु । अनेक आर्थिक र राजनीतिक बेथिति छन्, त्यसलाई रोक्ने अठोटका साथ राजनीतिमा आएको हुँ । नेताहरुले व्यापार गर्न हुन्छ भने हामीले राजनीति गर्न किन नहुने ? हामीले दिने चन्दाले नेताहरुलाई धनी बनाउनुको साटो सामाजिक र देश विकासमा योगदान पुर्याउन पार्टी खोलेको हुँ ।’

राजनीति सँधै सरल र सहज रेखामा हिंड्दैन । विभिन्न योजनाका लागि नयाँ पार्टी र नयाँ अनुहारसहित निर्वाचनमा होमिएका मोतीको हकमा पनि यो लागू भयो । निर्वाचनमा सोचेअनुसारको परिणाम आउन नसकेपछि उनको राजनीतिले नयाँ मोड लियो । उनी संगठन भएको र देशमा स्थापित भइसकेको पार्टीबाटै आगामी राजनीति अघि बढाउने निष्कर्षमा पुगे ।

सोही अनुसार उनी वि.सं. २०७० सालमा नेकपा एमालेमा प्रवेश गरे । मोती आफूमात्रै एमालेमा गएनन्, आफूसँगै दुई दर्जन उद्यमीलाई एमालेको राजनीतिक प्रवाहमा सामेल गराए । उनले आफू कुनै पद वा जिम्मेवारीको लोभमा नभई देशलाई निःस्वार्थ सेवा गर्ने उद्देश्यले राजनीतिमा आएको र एमाले प्रवेश पनि आफ्नो सोही उद्देश्यअनरुप भएको बताएका थिए ।  पार्टी प्रवेश कार्यक्रममा उनले भनेका थिए, ‘म कुनै पदको लोभले नभई एमालेको सिद्धान्त र उद्योगमैत्री नीतिबाट प्रभावित भएर पार्टी विलय गराउदै एमाले प्रवेश गरेको हुँ ।’

आफ्नो दक्षता र कौशलताबाट एमाले नेतृत्वको नजरमा परे । सोही अनुसार उनले पार्टीमा जिम्मेवारी पाउन थाले । उनको कामबाट अध्यक्ष केपी शर्माओली विशेष रुपमा प्रभावित भएका थिए । एमालेको केन्द्रीय सदस्यसमेत रहेका मोतीले अहिले एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखका रुपमा जिम्मेवारी निभाइरहेका छन् ।

संसददेखि सिंहदरबारसम्मको अनुभव 

आर्थिक उन्नतिका लागि त्यही अनुसारको नीति निर्माणको आवश्यकता पर्छ । देशमा उद्यम, व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन आवश्यक नीति निर्माण गर्ने त्यो थलो संसद हो । राजनीतिमार्फत देशको आर्थिक उन्नतिमा योगदान पुर्याउने लक्ष्य बोकेका मोतीका लागि संसदमा प्रवेश गर्ने अवसर पहिलो संविधानसभामा नै मिल्यो । उनी सद्भावना पार्टीका तर्फबाट समानुपातिक सभासद बने । यद्दपि सभासद बन्न उनले निकै मेहनत गर्नुपर्यो ।

सभासदका रुपमा नयाँ संविधान बनाउने ऐतिहासिक अवसर थियो । उनी खासमा नयाँ संविधान निर्माणका क्रममा आफ्ना आर्थिक अनुभव बाँड्न चाहन्थे । उद्यमी, व्यवसायीका मुद्दा संविधानमा संस्थागत गर्ने उनको चाहना थियो । विडम्बना, विभिन्न राजनीतिक तानातानका कारण पहिलो संविधानसभाको अवसर खेर गयो, जसले मोती दुगडलाई निराश बनायो । अझ, पार्टी विभाजनपछि उनले बीचमै संविधानसभा छाड्नुपर्ने अवस्था आयो ।

यस्तै दोस्रो पटक संसद प्रवेश गर्ने अवसर उनलाई नेकपा एमालेले जुरायो । उनी वि.सं. २०७४ मा एमालेको समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्यको रुपमा संघीय संसदको यात्रा गर्न सफल भए । प्रतिनिधिसभा सदस्यका रुपमा विभिन्न जिम्मेवारी कुशलतापूर्वक निभाएर आफ्नो पाँच वर्षीय कार्यकाल सम्झिनलायक बनाए ।

यही समयमा उनलाई देशको शासकीय केन्द्र सिंहदरबारसम्मको यात्रा गर्ने अवसर जुर्यो । उनी केपी ओली नेतृत्वको सरकारमा वि.सं. २०७६ मा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारीमा पुगे । उद्योगीको मनोबल बढाउने र देशमा उद्यम गर्ने वातावरण र नीति निर्माण गर्न भूमिका खेल्ने प्रण गर्दै सरकारमा गएका मोती आफ्नो उद्देश्यमा निखारिँदै थिए । बन्द तथा रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्न आवश्यक रणनीति बनाउँदै थिए, उनी जिम्मेवारीमुक्त हुनुपर्ने अवस्था आयो । आफ्ना योजना कार्यन्वयन गर्नका लागि आवश्यक समय नपाउँदै सरकारबाट बाहिरिनुपर्दा मोतीलाई दुखित तुल्यायो । तर, त्यसको एक महिनाभित्रै उनलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले अर्का महत्वपूर्ण जिम्मेवारी दिए, प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारका रुपमा ।

प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारका रुपमा उनले उद्योगीलाई सरकारसँग जोड्ने काम गरे । उनीहरुका समस्या, गुनासाहरुको सम्बोधनका लागि प्रधानमन्त्रीसँग नजिकमा रहेर काम गरे । उनको त्यसबेलाको भूमिकालाई अहिलेपनि कयौँ उद्योगीहरुले प्रशंसा गरिरहेका छन् ।

समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य साकार पार्ने हुटहुटी 

नेकपा एमालेका अध्यक्ष केपी शर्माओली नेतृत्वको तत्कालीन सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ लक्ष्य अघिसारेको थियो । तर, विभिन्न राजनीति कारणले ओली नेतृत्वको सरकार पूरा कार्यकाल चल्न सकेन ।

सरकारबाट बाहिरिनुपरे पनि एमालेले ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यमा देशलाई लैजान अहिले पनि आफ्नो स्तरबाट भूमिका निभाईरहेको छ । जनताको स्तर उकास्दै देशलाई नयाँ उचाईंमा पुर्याउनका लागि सरकार, निजी क्षेत्र सबैले एक भएर लागे ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना साकार हुने मोती दुगड बताउँछन् ।

उनी त्यसै अनुसार आफ्नो तर्फबाट योगदान पनि गरिरहेका छन्, चाहे राजनीतिक रुपमा भूमिका खेल्ने होस् वा निजी क्षेत्रबाट स्वरोजगार सिर्जना गर्न तथा अर्थतन्त्र उकास्न होस् । किनकी दुगडको कम्नी सेन्चुरी ग्रुप अफ कम्पनीजले हजारौँ नेपालीहरुलाई रोजगारी प्रदान गरिरहेको छ । वर्षेनी करोडौँ राजश्व तिरेर देशको अर्थतन्त्रमा योगदान पुर्याइरहेको छ । मोतीलाई यतिले पुगेको छैन । दिनानुदिन बिग्रिँदै गएको देशको अर्थतन्त्रलाई उनी आफ्नो अनुभव र दक्षताका बलमा उकास्न चाहन्छन् ।

अहिले राजनीतिको आडमा आफ्नो पेसा व्यवसायलाई अझ सहयोग पुर्याउन उद्योगी व्यवसायी विभिन्न पार्टीमा प्रवेश गरिरहेका छन् । तर, मोती भने आफ्ना सबै व्यवसाय छोरालाई हस्तान्तरण गरेर निःशर्त र निःस्वार्थ रुपमा देशको सेवा गर्न आफू राजनीतिमा आएको बताउँछन् । नीति निर्माण तहमा पुगेर मुलकको आर्थिक विकासमा सकेसम्म सार्थक योगदान दिने सोचले राजनीतिमा होमिएको उनको भनाई छ ।

दयनीय अवस्थामा पुगेको देशको अर्थतन्त्रलाई लयमा फर्काउन मोतीलाल दुगडजस्ता व्यक्तिहरुको आवश्यकता परेको विज्ञहरु औँल्याउँछन् । आर्थिक क्षेत्रमा मोतीको दशकौँको अनुभव र दक्षतालाई सदुपयोग गर्न सके देशको अर्थतन्त्रलाई माथि उकास्न मदत पुग्ने उनीहरुको दाबी छ ।