काठमाडौं-काठमाडौं उपत्यकामा सञ्चालित झण्डै ५० प्रतिशत सवारी साधन प्रदूषणको कारक रहेको पाइएको छ । सरकारी टोलीले गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री कार्यालय, वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभागको संयुक्त टोलीले उपत्यकामा सञ्चालित सवारी साधनको प्रदूषण जाँच गरेको थियो । २९४ गाडीको प्रदूषण जाँच गर्दा १३४ वटा मापदण्डभित्र परेनन् ।


ADVERTISEMENT

# # #


टोलीले पुस १३, १४, १५ र १८ गते भद्रकाली, कमलपोखरी, दरबारमार्ग, नक्साललगायत स्थानमा सवारी साधनको छड्के प्रदूषण जाँच गरेको थियो । ‘हामीले सवारीसाधन प्रदूषण जाँच अभियान थालेका छौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी तथा प्रवक्ता उमेश रञ्जितकारले भने, ‘प्रदूषण जाँचक्रममा झण्डै आधा सवारी साधन फेल भए ।’

उनका अनुसार महाशाखाले संयुक्त टोली बन्नुअघि असोज ३१ गतेबाटै सवारी साधन प्रदूषण जाँच अभियान थालेको थियो । महाशाखाको टोलीले पनि प्रदूषण जाँच गरिएका सवारी साधनमध्ये आधाजति फेल भएको पाएको थियो । ‘

उपत्यकामा सञ्चालित सवारी साधनको प्रदूषण मापन गरिएका मध्ये आधाको हाराहारीमा मापदण्ड पूरा गर्न फेल भएको पाएका छौं,’ उनले भने, ‘यो नतिजाले उपत्यकामा चल्ने झन्डै आधा गाडी प्रदूषण मापदण्डबाहिर रहेको देखाउँछ ।’

संयुक्त टोली बनेपछि मेसिनसहित सडकमै गएर सवारी साधनको प्रदूषण जाँच गर्न थालिएको हो । समयमै इन्जिन मर्मत नगरेका कारणले अधिकांश सवारी साधन प्रदूषणको कारक बन्दै गएको पाइएको महाशाखाको निष्कर्ष छ । अहिले उपत्यकामा प्रदूषणको मात्र बिहानको समयमा १ सय ५० पिएमसम्म पुग्ने गरेको छ ।

जुन सरकारी मापदण्डभन्दा झन्डै चारगुना बढी हो । सरकारले उपत्यकाको हावामा प्रदूषणको मात्रा ४० पिएम हुनुपर्ने मापदण्ड तोकेको छ ।

उपत्यकामा प्रदूषणको कारक तत्व सवारी साधन पनि बनेका छन् । एक अध्ययनअनुसार उपत्यकाको प्रदूषणमा ३८ प्रतिशत हिस्सा सवारी साधनबाट निस्कने धुवाँको रहेको छ ।

प्रदूषण मात्रा अत्यधिक भएपछि प्रधानमन्त्री कार्यालयले विशेष चासो दिएर सवारी साधनको प्रदूषण जाँच गर्न लगाएको हो । तर, प्रदूषण जाँच गर्न पर्याप्त जनशक्ति र मेसिन नहुँदा समस्या भएको महाशाखाले जनाएको छ ।

प्रदूषण जाँचक्रममा फेल भएका सवारी साधनलाई यातायात व्यवस्था विभागले जरिवाना चिट काटेर छोड्ने गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६० (३) अन्तर्गत सवारी प्रदूषण मापदण्ड फेल हुने सवारी साधनलाई दुई सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना सकिन्छ ।

सोही प्रावधाननुसार एक हजार जरिवाना चिट काटेर त्यस्ता गाडीलाई छोड्ने गरिएको विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिए । उनका अनुसार जरिवाना चिट काटेसँग सवारी साधनको ब्लु बुक नियन्त्रणमा लिइन्छ । धनी वा चालकले सवारी बनाएर प्रदूषण जाँचमा पास भएको प्रमाण ल्याएपछि ब्लु बुक फिर्ता दिइन्छ ।