काठमाडौं-धनकुटामा जारी आम हड्तालले जनजीवन प्रभावित बनेको छ । प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले बिहानैदेखि कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड बन्द गराएका छन् ।


ADVERTISEMENT


बन्दका कारण दर्जनौं सवारी साधन धनकुटाको आत्मारा ढाट तथा जिरो प्वाइन्टमा रोकिएका छन् । ति स्थानमा सयौंको संख्यामा स्थानीयवासीले प्रदर्शन गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


बन्दकर्ताले मोटरसाइकल समेत रोकेपछि सर्वसाधारणलाई बढी असर परेको छ । सरकारले आफ्नो माग नसुनेकाले आन्दोलनलाई शसक्त पारिएको आन्दोलन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।

आन्दोलनकारीले धनकुटा बजार, पसल, कलकारखाना समेत बन्द गराएका छन् । तर एम्बुलेन्स, प्रेस जस्ता अत्यावश्यक सवारी साधन तथा शिक्षण संस्था भने सञ्चालनमा छन् ।

राजधानी माग राख्दै एक महिनादेखि धनकुटाबासीले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । जिल्लाका सात वटै तहका प्रमुख तथा उपप्रमुख, राजनैतिक दलका प्रतिनिधि लगायत विभिन्न संघसंस्था समेटिएको ५०१ सदस्यीय समिति गठन गरी संघर्षका कार्यक्रम अघि सारिएको जनाईएको छ । संघर्ष समितिले आजदेखि अनिश्चितकालिन बन्द आव्हान गरेको छ ।

सरकारी गाडी तोडफोड
धनकुटा ६ स्थित आत्मारा ढाट नजिक आज बिहान बन्दकर्ताले एउटा सरकारी गाडीलाई रोकेर तोडफोड गरेका छन् ।

मोरङ कारागारको को.१ झ ४८३ नंबरको जिपमा लाठी प्रहार गरिदा गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

बन्दकर्ताले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । सडकमा बालिएको टायर भने शसस्त्र प्रहरीले निभाएका छन् ।