काठमाडौं – आफ्नो स्वामित्वमा रहेको एनसेलको ८० प्रतिशत शेयर हस्तान्तरण गर्दा लाग्ने पूँजीगत लाभकर समयमा दाखिला नगर्दा टेलियासोनेरालाई करीव ५ अर्ब रुपैयाँको कर थपिएको छ ।


ADVERTISEMENT


मंगलवार ठूला करदाता कार्यालयले टेलियासोनेराले आफ्नो स्वामित्वको शेयर हिस्सा आजियाटाको नाममा विक्री गर्दा लागेको पूँजीगत लाभकरको दायीत्वमा ब्याजसमेत जोडेर ६५ अर्ब ४० करोड रुपैयाँ कायम गरेको छ । उक्त रकम १५ दिनभित्र तिर्न पनि कार्यालयले स्वीडेनस्थित टेलियासोनेरा कम्पनीका नाममा सार्वजनिक सूचना जारी गरेको छ ।


ADVERTISEMENT

# # #


पटक(पटक ताकेता गर्दा पनि कर दाखिला नगरेपछि कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो ।

कार्यालयले गत असारमा टेलियाका नाममा ब्याज तथा जरिवानासमेत जोडेर ६० अर्ब ७१ करोड रुपैयाँ पूँजीगत लाभकर कायम गरेको थियो । त्यसयता ६ महिनासम्म कर दाखिला नगरेपछि कार्यालयले त्यसमा लाग्ने १५ प्रतिशत ब्याज जोडेर नयाँ दायित्व सार्वजनिक गरेको हो ।

निर्धारित समयमा पनि कर दाखिला नगरे आयकर ऐन २०५८ बमोजिम अन्य कदम चाल्न बाध्य हुने कार्यालयले स्पष्ट पारेको छ । यसअघि कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत स्वीडेनको परराष्ट्र मन्त्रालयलाई पनि कर तिराउने प्रक्रियामा सहयोग पुर्‍याउन कुटनीतिक पत्राचार गरेको थियो । यद्यपि, हालसम्म टेलियाबाट कुनै प्रतिक्रिया नआएको कार्यालयले जनाएको छ ।

२०७२ चैतमा टेलियाले आफ्नो स्वामित्वको एनसेलको ८० प्रतिशत शेयर मलेसियाको आजियाटालाई विक्री गरेको थियो ।