काठमाडौं-ललितपुर क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न गोदावरीस्थित निवास पुगेको प्रहरी टोली रित्तो हात फर्किएको छ । एउटा कार्यक्रममा भाग लिन मलेसियामा रहेका सिलवाललाई लिन ललितपुरको प्रहरी टोली सिलवाल निवास पुगेको थियो ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार मात्र ललिपतुर प्रहरीलाई पत्र लेखी सिलवाललाई उपस्थित गराइदिन आग्रह गरेको थियो । प्रहरी महानिरीक्षक मुद्दामा सिलवालले पेश गरेको कार्य सम्पादन मुल्यांकन नम्बर र प्रहरी प्रधान कार्यालयले पेश गरेका नम्बर फरक परेको भन्दै सर्वोच्च अदालतले कासमु फरक भएको प्रसङ्गमा कस–कसको गल्ती हो छानबिन गर्न निर्देशन दिएको थियो ।


ADVERTISEMENT

# # #


यसैबीच, मलेसियामा रहेका सिलवालले आफू पूर्व निर्धारित कार्यक्रममा भाग लिन आएको सबैलाई जानकारी रहेको भन्दै अनावश्यक रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले प्रतिशोधका लागि एकपछि अर्को प्रचारबाजी गरेको बताए ।

टेलिफोनमा कुरा गर्दै सिलवालले भने, ‘म फरार पनि छैन र मलाई पक्राउ गर्नुभन्ने पत्र पनि छैन । अनुसन्धान लाई सघाउन म सधैं तयार छु । म काठमाडौंमा हुन्जेल केही भएन, अहिले कार्यक्रममा आएको मौकामा प्रहरीका केही अधिकारीलाई धम्की दिएर पक्राउको हल्ला चलाइएको छ ।’

सिलवालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएको लज्जास्पद पराजयको प्रतिशोध लिन र पार्टीभित्रको बहस अन्यत्र मोड्न देउवाले आफूबिरुद्ध सिलसिलेवार प्रोपोगाण्डा मच्चाएको आरोप लगाए । उनले कासमु किर्ते काण्डमा तत्कालिन आइजिपी उपेन्द्रकान्त अर्याल र सरकार नै संलग्न रहेको भन्दै अहिलेको प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुनेमा शंका गरेका छन् ।

सिलवालले भने, ‘मैले अनलाइनहरुमा आएको कासमुको विवरण फोटोकपी गरेर बुझाएको हो । यस प्रकरणमा तत्कालिन आइजिपी उपेन्द्रकान्त अर्याल लगायतका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ । म सडकबाट राज्यसँग लडेको व्यक्तिले कसरी किर्ते गर्न सक्छु ? यो त म माथि ज्यादतिको पराकाष्ठा हो ।’

आफू चुनाव जितेर जनताबीच हुन्जेल प्रहरीले नखोजेको र कार्यक्रमका लागि बाहिर गएको बेला बदनाम गर्ने नियतले फण्डा चलाइएको सिलवालले बताए । आफूबिरुद्ध मुद्दा लडेको व्यक्ति प्रकाश अर्याल नै अहिले आइजिपी भएकाले देउवा र अर्याल दुवै जना प्रतिशोधमा उत्रिएको उनको भनाइ थियो ।