काठमाडौँ– सांसद अमरेशकुमार सिंहविरुद्व अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ । सांसद सिंहविरुद्व सोमबार नेपाली कांग्रेसका कार्यसमिति सदस्य विकास कुमार ठाकुरले सम्पति छानबिनको माग गर्दै अख्तियारमा उजुरी हालेका हुन् ।
उजुरीमा राजनीतिबाहेक अन्य पेशामा आबद्व नभएपनि सिंहले अकुत सम्पति जोडेको भन्दै सोको छानबिन गर्न माग गरिएको छ । साथै उनीमाथि निर्वाचनका क्रममा आर्थिक रवाफ देखाएको तथा मतदाता खरिद गरेको आरोप समेत लागेको छ ।
‘२०६३ सालबाट एकैपटक नेपाली कांग्रेसको राजनीतिमा उदाउनु भएका सिंहले गरेको आर्थिक फड्को सर्लाही जिल्लाका आम जनता तथा मतदाताका लागि आश्चर्यको विषय बनेको छ’, उजुरीमा भनिएको छ, ‘निर्वाचनको क्रममा देखाएको आर्थिक रवाफ तथा मतदाता खरिद गर्न भएको व्यवस्थापनले यति ठूलो आर्थिक हैसियत बनाउनु एक नेताका लागि महत्वपूर्ण विषय हो ।’
यसका साथै आर्थिक चलखेलकै कारण सर्लाहीमा पटक–पटक निर्वाचित भएका उनीबाट निर्वाचित क्षेत्रको समृद्विका लागि कुनै पहल नगरी आफू र आफ्ना नजिकका आफन्तलाई निरन्तर पोस्ने काम भइरहेको उजुरीकर्ताको दाबी छ ।
२०६३ सालमा अन्तरिम संसदको सदस्य हुनुपूर्व किर्तिपुरमा दुईवटा कोठा भाडामा लिई बस्दै आएका आमरेश कुमारमाथि संसद बनेपछि बलेरा नगरपालिकामा २ करोड बराबरको साढे दुईतल्ले घर बनाएको, सर्लाहीकै विभिन्न स्थानमा साढे ३ करोड बराबरको र झापामा जेठी श्रीमतीको नाममा २ करोडको जमिन खरीद गरेको लगायतका अभियोग लागेको छ ।
मंसिर ४ मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा बागी उम्मेदवारका रुपमा भिडेका सिंह नेपाली कांग्रेसका नागेन्द्रकुमार सिंहलाई हराउँदै सर्लाही ४ बाट निर्वाचित भएका थिए । त्यसअघि कांग्रेसकै कार्यकर्ता रहेका उनी पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारको रुपमा चुनावमा होमिएका थिए ।
अख्तियारमा परेकाे उजुरीमा सांसद सिंहविरुद्ध लागेका आरोपहरु निम्न छन् :
१. २०६३ सालमा अन्तरिम संसदको सदस्य हुनुपूर्व माननीय प्रतिनिधिसभाका सदस्य सिंह काठमाडौको किर्तिपुरमा २ कोठा भाडामा लिई बसोबास सुरु गर्नुभएको थियो । त्यतिबेला उहाँले प्रयोग गर्ने वा १० प २३७९ नम्बरको स्पलेण्डर मोटरसाईकल थियो ।
२. सिंहको पैत्रिक सम्पत्ति बलरा नगरपालिकामा अमरेश कुमार सिंहकै नाममा डेढ विद्या रहेको छ । जसको हालको मूल्य २० लाख बढि रहेको छ ।
३. राजनीति बाहेक अन्य कुनै पनि पेशा, व्यवसाय तथा आयश्रोत नभएको ।
४. २०६३ सालमा अन्तरिम संसद भईसकेपछि बलरा नगरपालिका वडा न ४ मा करिब २ करोडको साढे दुई तले बंगला (घर) निर्माण गरेको ।
५. सर्लाहीको तत्कालिन बलरा र अर्नाहा गाउँ विकास समितिमा साढे दुई विद्या जग्गा खरिद गरेको । जसको तत्कालिन खरिद मूल्य करिब १ करोड ५० लाख रहेको ।
६. मलगवा नगरपालिका वडा नं. ८ मा आफ्नो नाममा र एकासगोलको भाउजु मनोरमा सिंहको नाममा २ कट्ठा जग्गा खरिद गरेको । जसको खरिद मूल्य करिब २ करोड बढि रहेको ।
७. आफ्नो जेठी श्रीमति नीतु सिंहको बुबा (ससुरा सुरेश सिंहको नाममा झापाको भद्रपुरमा ४ कट्ठा जग्गा खरिद गरेको जसको तत्कालिन समयमा २ करोडमा खरिद गरेको।
८. हाल माननिय साँसद सिंह बसिरहेको ललितपुरको सैबु वडा न. ४ (ग) मा कित्ता ४ तले बंगलो निर्माण भएको छ । जसको हालको मूल्य ३० करोड भन्दा बढि रहेको छ । यो सम्पत्ति पनि माननीय सिंह र उहाँकी एकासगोलको भाउजु मनोरमा सिंहको नाममा रहेको छ ।
९. ललितपुरको सैबु वडा न ८ (घ) मा कित्ता नम्बर ८८४८८५ ८८६ को डेढ रोपनी जग्गा खरिद गरिएको छ । जुन अमरेश कुमार सिंहको नाममा रहेको र जसको हालको मूल्य २० करोड बढि रहेको छ ।
१०. ललितपुर महानगरपालिका वडा नं १७ ग्वार्कोमा करिब ५ करोड पर्ने चार तले घर र जग्गा आफ्नै बहिनी बेबी सिंह झाको नाममा खरिद गरेको ।
११. विगतमा विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुको नक्कली शैक्षिक प्रमाणपत्र निर्माण गरी दुरुपयोग गरेको अभियोगमा थुनामा परेका र मुद्दा सचेत अदालतमा विचाराधिन अवस्थामा रहेको माननीय सिंहको बहिनी ज्वाई संजय झाले सञ्चालन गरेको KENT कलेज र बुद्धनगरमा सञ्चालित YEPI यपी कलेजमा करोडौंको लगानी रहेको ।
१२. केहि समय अगाडी मात्रै भारतको राजधानी नयाँ दिल्लीमा एकासगोलको दाजु शैलेन्द्र कुमार सिंहको कान्छि बुहारी मेघाली मजुदारको नाममा ५ करोड भारतीय रुपैया पर्ने घर खरिद गरेको ।
१३. सुन, चाँदी तथा बहुमूल्य धातु हिरा राखेको (४० तोला सुन, २०० तोला चाँदी र १ तोला हिरा) सम्पत्ति विवरणमै पेश भएको ।
१४. बासु श्रेष्ठ भनेर चिनिने काठमाडौको एक जना व्यापारीसँग सेयरमा बैंक सञ्चालन गरेको र उनीसँगै छाउनी स्थित क्लोनीमा करिव ५ करोडको सेयर रहेको ।
१५. राजु केसी भन्ने काठमाडौंकै अर्को एक जना व्यापारी मार्फत काठमाडौको कालीमाटी तरकारी बजारमा कवाडीवालाहरुलाई मिटर व्याजमा पैसा लगानी गरेको । जुन हाल उठ्न बाँकी करिब १० करोड रहेको । सोही व्यापारीसँगको सेयरमा काठमाडौको चोभारमा जग्गा खरिद गरी प्लटिङ गरेको जसको हालको मूल्य ७ करोड भन्दा बढि रहेको ।
१६. आफैले चढिरहेको बा १५ च ११४३ नम्बरको स्कोर्पियो गाडी अरुको नाममा लुकाएर चलाईरहेको ।
१७. देशका विभिन्न सहरहरुमा करोडौं मूल्य पर्ने घर जग्गा तथा अन्य सम्पत्ति आफ्ना परिवारका नाममा राखेको ।
१८. ५ वर्ष अघि दोस्रो श्रीमति लक्ष्मी जोशीको नाममा विभिन्न ठाउँमा घर जग्गा खरिद गरेको र नेपालका विभिन्न बैंकहरुमा करोडौ रकम जम्मा गरेको ।
१९. लाखौं पर्ने विभिन्न कम्पनीका सेयर खरिद गरेको । जसमा आफ्नो र आफ्नो श्रीमतिको नाममा रहेको ।
२०. संसद विकाश कोषको लाखौं रकम लक्षित समुदायमा नपुर्याई मनपरी बाँडेको ।
उजुरीकाे फाेटाे सहित :