काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार दिउँसो चितवन जाने भएका छन् । उनको निजी सचिवालयका अनुसार शुक्रबार हुने भरतपुर महानगरपालिकाको नगरपरिषदमा सहभागी हुन दाहाल दिउँसो साढे २ बजे चितवन जान लागेका हुन् ।


ADVERTISEMENT


दाहालको गृहनगर समेत रहेको भरतपुरमा उनकी छोरी रेणु दाहाल मेयर छन् । दाहाल भोलि पनि चितवनमै बस्ने र शनिबार बिहानमात्र काठमाडौं फर्कने कार्यक्रम छ । दाहाल चितवन जाने भएसँगै पार्टी एकता विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हुने भनिएको भेट अनिश्चित भएको छ ।


ADVERTISEMENT

# # #


दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाका अनुसार अहिले दाहाल प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । ‘उताबाट अहिलेसम्म केही खबर आएको छैन, उहाँहरुले बोलाए आज भेट हुन पनि सक्छ, नबोलाए नहुन पनि सक्छ,’ तिमिल्सिनाले भने ।

यसअघि मंगलबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकमा दाहालले पार्टी एकता हुँदा एक दलले प्रधानमन्त्री र अर्कोले पार्टी अध्यक्ष पाउनु पर्ने बताएका थिए । सो विषयमा आफूले एमाले अध्यक्ष ओलीसँग बुधबार नै भेटेर ठोस कुरा गर्ने पनि उनले बैठकमा बताएका थिए।

बुधबार दुई नेताबीच भेट भने हुन सकेन ।