काठमाडौँ –  आगामी जुन १८ देखि जिम्बाब्बेमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटका लागि स्कटल्याण्डको टोली घोषणा भएको छ । क्रिकेट स्कटल्याण्डले बिहीबार रिची बेरिङ्टनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।


ADVERTISEMENT


स्कटल्याण्डले फेब्रुअरीमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ को उपाधि जित्ने धेरैजसो खेलाडीलाई टोलीमा कायम राखेको छ । स्कटल्याण्डले लिग–२को आफ्नो अन्तिम सिरिज अन्तर्गत नेपालमा खेलेको टोलीमा दुईवटा मात्रै परिवर्तन गरेको छ । अलास्डेयर इभान्स र एड्रियन निललाई लियाम नेलर र सन्यास घोषणा गरेका काइल कोएट्जरको स्थानमा ल्याएको छ ।


ADVERTISEMENT

# # #


स्कटल्याण्डको टोली: रिची बेरिङ्टन (कप्तान), म्याथ्यू क्रस, अलास्डेयर इभान्स, क्रिस ग्रीभ्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रान्डन म्याकमुलेन, जर्ज मुन्से, एड्रियन निल, सफियान शरीफ, क्रिस सोल, हमजा ताहिर, मार्क वाट।

स्कटल्याण्डले विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा नेपाल र नेदरल्याण्डसँग त्रिकोणात्मक अभ्यास खेल्नेछ । विश्वकप छनोटका लागि यसअघि वेष्ट इण्डिजको टोली घोषणा भएको थियो ।

विश्वकप छनोटमा वेष्ट इण्डिजसहित, नेपाल, श्रीलङ्का, जिम्बाब्बे, आयरल्याण्ड, नेदरल्याण्ड, स्कटल्याण्ड, ओमान, युएई र अमेरिका गरी १० राष्ट्र रहेका छन् ।

विश्वकप छनोटमा पुगेका टोलीको यात्रा

यसअघि १२ टेष्ट मान्यताप्राप्त राष्ट्र र २०१५ देखि २०१७ सम्म भएको लिग च्याम्पियनसिपको विजेताका रुपमा नेदरल्याण्डले सन् २०२० देखि २०२३ सम्म आईसीसी सुपर लिग खेलेका थिए । जसमा खराब प्रदर्शनपछि सोझै विश्वकपमा स्थान बनाउन असफल भएका पुछारका ५ टोलीका रुपमा वेष्ट इण्डिज, श्रीलङ्का, आयरल्याण्ड, जिम्बाब्बे र नेदरल्याण्ड विश्वकप छनोटमा पुगेका हुन् ।

यस्तै सन् २०१९देखि २०२३ सम्म भएको ७ राष्ट्र सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–२का शीर्ष ३ का रुपमा स्कटल्याण्ड, ओमान र नेपाल विश्वकप छनोटमा पुगेका हुन् ।

गत मार्चमा सम्पन्न लिग–२ मा स्कटल्याण्ड च्याम्पियन बनेको थियो भने ओमान दोस्रो र नेपाल तेस्रो हुँदै विश्वकप छनोटमा स्थान बनाएका हुन् । एकदिवसीय मान्यता जागाउन समेत कठिन अवस्थामा पुगेको नेपालले अन्तिम १२ खेलमध्ये ११ खेल जित्दै आश्चर्यजनक रुपमा विश्वकपमा स्थान बनाएको थियो ।

यता लिग–२ मा अमेरिका पाँचौँ र युएई छैटौँ भएसँगै सिधै विश्वकप छनोटमा पुग्न असफल भएका युएई र अमेरिकाले प्लेअफमा उत्कृष्ट २ भित्र पर्दै विश्वकप छनोटमा पुगेका हुन् ।

यस्तो छ विश्वकप छनोटको फर्म्याट

जुन १८ देखि जुलाई ९ सम्म जिम्बब्बेमा हुने विश्वकप छनोट राउण्ड रोबिन र नकआउट फर्म्याटमा हुनेछ । विश्वकप छनोमा १० टोलीलाई ५–५ टोली गरी दुई समूहमा विभाजन गरिनेछ ।

जहाँ टोलीले एकअर्काबीच खेल्नेछन् । प्रत्येक समूहका उत्कष्ट ३ टोली सुपर ६ मा प्रवेश गर्नेछन् । सुपर ६ मा पनि प्रत्येक टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । सुपरसिक्सका उत्कृष्ट २ टोली यही वर्ष भारतमा हुने विश्वकपमा छनोट हुनेछन् ।