काठमाडौँ- राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको फाइनल चरणको बहसका लागि जिल्ला अदालत काठमाडौँमा न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीको इजालासमा परेको छ।
आइतबार अन्तिम चरणको बहसको कार्यतालिका रहेको छ। पटक-पटक फाइनल चरणको बहसका लागि पेशी तोकिए पनि निरन्तर सुनुवाइ हुन नसक्दा मुद्दाले अन्तिम किनारा पाउन सकेको छैन। सन्दीपको मुद्दा ४ नम्बरमा रहेको छ। आजै सुनुवाइ सुरु हुने सम्भावना बलियो रहेको छ।
सर्वोच्च अदालतले गत १५ फागुनमानै काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अबलम्वन गरी छिटो कारबाही किनारा गर्नू भनी दिएको आदेशको करिब तीन महिना पूरा हुँदा पनि मुद्दाले किनारा पाउन सकेको छैनन्। यसअघि गत १९ वैशाखमा मुद्दाको पेशी न्यायाधीश दीपक ढकालको इजालासमा परेको थियो। जहाँ सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरिसकेका थिए।
न्यायाधीशले इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिनुपर्ने आमचलन रहँदै आए पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखी हेर्न नभ्याइनेमा राखेपछि पुन: फाइनल चरणको बहस भएको छैन।
सन्दीपकका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले आजको बहसमा किनारा लगाउनका लागि आग्रह गर्ने बताए। उनले भने ‘कोर्टलाई हामी टाइम फिक्स गरेर निरन्तर सुनुवाइका लागि आग्रह गर्ने छौँ। अदालतले पनि सर्वोच्चको आदेशलाई अपनत्व लिने विश्वास छ।’
उनले यो विषय सन्दीपका लागि मात्र नभएर देशको प्रतिष्ठा र क्रिकेट र अन्तर्राष्ट्रिय खेलहरूका लागि समेत महत्वपूर्ण भएकाले अदालते निरन्तर सुनुवाइको प्रक्रियामा लगेर मुद्दा टुंग्याउनु पर्ने आफूहरूको बलियो मत रहने बताए।